STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपिन जोशी जिउँदै छ, उनी चाँडै फर्किनेछन् : इजरायल

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर २१, शुक्रबार

इजरायलमा प्यालेस्टिनी समूह हमासको हमलापछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ। नेपालका लागि नवनियुक्त इजरायली राजदूत समुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको दाबी गरेका छन्।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ राजदूत वासले बिहीबार काठमाडौँमा पत्रकारहरूसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्त्वपूर्ण छन्। उनी चाँडै काठमाडौँ फर्किनेछन्।’ उनले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम वर्ष अध्ययनरत ४९ जना विद्यार्थी ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। तीमध्ये १० जना नेपाली विद्यार्थीले गत वर्ष असोज २० गते प्यालेस्टाइनी उग्रवादी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका थिए। 

त्यसै दिन विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाएर गाजा क्षेत्र लगेको भनिएको छ। २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिए पनि दुईपटक भएको युद्धबिरामका बीच १ सय ५ जना रिहा गरिसकेको छ। ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो। हालसम्म बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिएको छ।

विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा रहेको र उनीहरूको रिहाइका लागि पहल भइरहेको राजदूत वासले बताए। इजरायल र हमासबीच युद्धबिरामका लागि कतारले मध्यस्थताको प्रयास गर्दै आएको छ।

Categorized in राष्ट्रिय