STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा लियो

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २३, मंगलबार

विराटनगर – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मोरङ मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको छ। मंगलबार नेकपाका मेची कोशी ब्युरो इन्चार्ज प्रतापले एक विज्ञप्ति जारी गर्दै शिक्षक श्रेष्ठको हत्याको जिम्मा लिएकाे जनाएका हुन्। तर, विप्लव समुहले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ आरोप लगाएको छ।

मेची कोशी ब्युरोको बैठक चलिरहेका बेला प्रहरी बोलाएर दमन गरेको भन्दै उनको हत्या गरिएको प्रतापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको बैठकका क्रममा २०७६ साल फागुन २६ गते प्रहरीलाई सूचना दिएकाले कारबाही गरेको बताइएको छ। आफ्नो पार्टीका नेता-कार्यकर्ताहरू र पार्टीविरोधी गतिविधि गरेको समेत विप्लव पार्टीको भनाइ छ।

विप्लव समूहले ५२ वर्षीय शिक्षक श्रेष्ठलाई घरैबाट लगेर जंगलमा हत्या गरेको थियो। समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ। तर, प्रत्यक्षदर्शीले भने उनलाई घरैबाट बाँधेर विप्लव समूहले लगेको बताएका थिए र विप्लव समूहका ६ जना थिए। यति संख्याको समूहसँग श्रेष्ठले कसरी प्रतिकार गर्न सके भन्ने कुरा खुलाइएको छैन।

बर्खे गाउँदेखि करिब ६ सय मिटर टाढा जंगलमा दुवै हात बाँधी अगाडिबाट घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला पारेको थियो।घटनामा संलग्न व्यक्तिहरुको विभिन्न स्थानहरुमा खोजी गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Categorized in अपराध-दुर्घटना