STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द हुनेछन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओ को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ । बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ ।यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।
Categorized in राष्ट्रिय