STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विवेकशील साझाले माग्यो राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १२, बुधबार

काठमाडाैं – विवेकशील साझा पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ । सो पार्टीले विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा कुनै अवाञ्छित चलखेल नगरी नयाँ सरकार निर्माणको मार्ग प्रशस्त्र गर्न माग गरेको छ ।

‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ,’ सो पार्टीको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ ।’

आफ्नो संवैधानिक दायित्वलाई ख्याल नगरी प्रधानमन्त्रीका कदमलाई साथ दिँदै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल राजीनामा दिनुपर्ने विवेकशील साझाको माग छ ।

‘संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबरस्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ ।’

सो पार्टीले ‘पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न’ पनि माग गरेको छ ।

‘सम्मानित अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको छ,’ विवेकशील साझाले भनेको छ, ‘अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको छ ।’

अदालतको कदमले संविधानवादको रक्षा भएको र विधिको शासनको पुनर्बहाली भएको उल्लेख गर्दै विवेकशील साझाले मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको उल्लेख गरेको छ । यसले न्यायालय कुनै पनि खाले दबाब र प्रभावबाट मुक्त रहँदै स्वतन्त्र निर्णय गर्न सक्षम छ भन्ने सन्देश दिएको सो पार्टीले जनाएको छ ।

Categorized in राजनीति