विश्व नेवाः दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १५, आइतबार
विश्वभरी छरिएर रहेका नेवाः समुदाय विभिन्न कार्यक्रम गरी मार्च महिनाको अन्तिम शनिबार आज विश्व नेवाः दिवस मनाइरहेका छन् भने विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा यसै अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा आ–आफ्नो क्षेत्रमा सफलता हासिल गरेका र विभिन्न किसिमले समुदायको उत्थानमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
सम्मानित सबैलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दोसल्ला ओढाइ सम्मान पत्रसहित सम्मान गर्नुभयो ।
वर्ल्ड नेवाः अर्गनाइजेशनबाट ४ वर्ष अगाडीदेखि मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएको छ । लन्डनमा संगठनको स्थापना भएको दिनको सम्झनामा दिवस मनाउने गरिएको हो ।
कार्यक्रममा वाम चिन्तक साथै वौद्धिक व्यक्तित्व र विश्व नेवाः संगठनका केन्द्रीय संरक्षक स्वर्गीय प्रा.माणिकलाल श्रेष्ठलाई पनि सम्झिँदै श्रद्धान्जली अर्पण गरिएको थियो ।
कार्यक्रममा नेवाः समुदायको उत्थानको लागि विभिन्न क्षेत्रबाट योगदान व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो ।
भाषा र सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको भन्दै लक्ष्मीदास मानन्धर र मोतिलाल शिल्पकारलाई सम्मान गरिएको थियो भने संगीत क्षेत्रबाट जनगायक भृगुराम श्रेष्ठ सम्मानित भए ।
त्यस्तै संस्कृति क्षेत्रबाट प्रा. प्रेमशान्ति तुलाधर, साहित्य क्षेत्रबाट कवि भूषणप्रसाद श्रेष्ठ, कला क्षेत्रमा राजकुमार शाक्य र खेलकुदबाट सब्बारानी महर्जन सम्मानित भए भने पत्रकारिता क्षेत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइएको थियो । त्यसैगरी स्वर्गीय गायक रमेश ताम्राकारको सम्झनामा स्थापित सम्मान गायक जुजुकाजी रंजितलाई दिइएको छ ।
सगरमाथाको उत्तरी र दक्षिणी दुवै मोहडाबाट सगरमाथा आरोहण गरी वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जन पनि सोही कार्यक्रममा सम्मानित भएकी छन् ।
सोही कार्यक्रममा संगठन नेपाल च्याप्टरका संस्थापक अध्यक्ष नरेन्द्रभक्त हाडा र पुर्व अध्यक्ष पुष्कर माथेमालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले संस्थाहरुले समुदायलाई एकजुट बनाउनको लागि काम गर्नुपर्ने सुझाव दिनुभयो । समुदायको हित, उत्थान र विकासमा नलाग्ने हो भने संघसंस्थाको कुनै अर्थ नरहने भन्दै नेवाः दिवसलाई पनि विश्वभरीका नेवाः समुदायलाई एकजुट बनाउन टेवा पुयाउनुपर्नेमा जोड दिनुभयो ।
वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनले राजनैतिक, आर्थिक विभिन्न कारणले विदेशिएर डायस्पोरा जीवन बिताइरहेका नेवाःहरुलाई यस दिवसले आफ्नो भूमिसँग जोडिरहेको बताउनुभयो । कुनै संस्था विशेषको कार्यक्रमको रुपमा नहेरी सबै नेवाः समुदाय मिलेर आ–आफ्नो किसिमले दिवस मनाउन शाक्यले आग्रह गर्नुभयो ।
नेपाल च्याप्टरका कोषाध्यक्ष साथै समारोह समिति संयोजक सुरेन्द्रभक्त श्रेष्ठले संक्रमणको जोखिमको अवस्थामा औपचारिकतामा सिमित हुँदै कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।
आज दिवसको अवसरमा तय भएको कार्यक्रम अन्तर्गत प्यानल डिस्कसन, साँस्कृतिक कार्यक्रम, फुड स्टल लगायतका योजना संक्रमणको जोखिमको अवस्थामा रद्द गरिएको थियो ।
कार्यक्रममा साहित्यकार भूषणप्रसाद श्रेष्ठ, गायक जुजुकाजी रंजित, विश्व नेवाः संगठनकी केन्द्रीय सचिव रश्मिला प्रजापति, संगठनको नेपाल च्याप्टर अध्यक्ष शाक्य सुरेन लगायतले आआफ्नो विचार राखेका थिए ।


