विश्व शान्तिको कामना गर्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार
हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन् । नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन् ।
विश्वमा दिनप्रतिदिन बढिरहेको हत्या, हिंसा, बलात्कार तथा प्राकृतिक विपत्तिका कारण हजारौँ मान्छेले ज्यान गुमाउँदै आएकाले विसं २०७६ मा यस्ता घटना नघटुन् भन्दै त्रिपुरासुन्दरी मन्दिरमा लाखबत्ती बालेर नवदुर्गादेवीको पूजाआजा गरिएको स्थानीय गोमा उपाध्यायले बताउनुभयो ।
देशमै एक प्रमुख शक्तिपीठको रुपमा स्थापित बालात्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्दा गाउँ, जिल्ला, देश हुँदै समग्र विश्वमा शान्ति स्थापना हुने विश्वास रहेको उपाध्यायले बताउनुभयो । यहाँका महिलाले देउसीभैलो खेलेर उठाएको रु ६५ हजार रकमबाट किनेको तामाको आरतीसमेत त्रिपुरासुन्दरी मन्दिरमा चढाएका छन् । लाखबत्ती बाल्नका लागि प्रयोग हुने आरती बाजागाजासहित मन्दिरमा लगिएको थियो ।
Categorized in राष्ट्रिय