विष्णुदेवी अस्पताल २४ सै घण्टा इमर्जेन्सी सेवासहित सुचारु गर्ने कीर्तिपुरका मेयर डंगोलको निर्णय
Janjati Khabar | २०८१ मङ्सिर २१, शुक्रबार
कीर्तिपुर नगरका नवनिर्वाचित मेयर कृष्णमान डंगोलद्वारा पदभार ग्रहण,
कीर्तिपुर/गएको मंसीर १६ गतेस्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले शुक्रबार नगरपालिका कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्नु अघि शुक्रबार बिहान कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ हलमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो ।
पदभार ग्रहणका लागि कीर्तिपुर नगरपालिका कार्यालय पुग्नु भएका नवनिर्वाचित मेयर कृष्णमान डंगोललाई नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य सुनिताले स्वागत गर्नुभएको थियो ।
मेयर कृष्णमान डंगोलले पदभार ग्रहण पश्चात् आफ्नो पहिलो निर्णय सार्वजनिक गर्नुभएको थियो । मेयर डंगोलले चुनाव अगाडि विभिन्न संचारमाध्यममा आफू मेयरमा निर्वाचित भए पहिलो कार्य कीर्तिपुरस्थित विष्णुदेवी अस्पताललाई व्यवस्थापनका साथ २४ सै घण्टा आकस्मिक सेवासहित सुचारु गर्ने प्रतिबद्धतालाई प्राथमिकता दिनुभएको भएको छ ।
पदभार ग्रहण पछि आफ्नो पहिलो कार्य एवं पहिलो निर्णय सार्वजनिक गर्दै मेयर डंगोलले “कीर्तिपुर नगरपालिकाको आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यहरुको लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन दफा ३ संग सम्बन्धित अनुसूची ४ क आर्थिक वर्ष २०८१–०८२ को पुँजीगत खर्च (योजना तथा कार्यक्रम) अन्तर्गत सामाजिक विकास क्षेत्र ‘आ’ को ‘ग’ मा आन्तरिक तर्फको स्वास्थ्य र अन्य स्वास्थ्य तर्फको विष्णुदेवी अस्पताल संचालन तथा व्यवस्थापनमा रु. १० लाख र किपू नगर अस्पताल भवन निर्माण तथा संचालनमा रु. ३ करोड बजेट विनियोजन भएको छ” भन्ने विवरण सार्वजनिक गर्नुभएको छ ।
नवनिर्वाचित मेयर कृष्णमान डंगोलको निर्णयमा भनिएको छ, “यस कीर्तिपुर नगरपालिका अन्तर्गत संचालित विष्णुदेवी अस्पतालको सेवा सुदृढिकरण गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा हाल तत्कालै २४ घण्टा ईमरजेन्सी सेवाका लागि, पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन औजार उपकरणहरु व्यवस्थापनका लागि उचित व्यवस्थापन गर्नुपर्ने भएकोले यथाशक्य व्यवस्थापन प्रक्रिया अगाडि बढाउनको लागि निर्णयार्थ पेश गर्दछु ।”
यस्तै, निर्णय सार्वजनिक गर्ने क्रममा मेयर डंगोलले भन्नु भएको छ, “नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवालाई सूचना प्रविधिसंग आवद्ध गर्न अनलाईन पेमेन्ट प्रणाली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेर सूचना प्रविधि क्षेत्रमा अध्ययनरत कीर्तिपुरका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न आवश्यक मापदण्ड निर्माण गर्न उपयुक्त देखी निर्णयार्थ पेश गर्दछु ।”
Categorized in उपत्यका


