STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यावसायिक कृषि खेतीमा अग्रसर हुँदै खजुरा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

खजुरा गाउँपालिकाका किसान अहिले पराम्परागत खेतीलाई छाडेर क्रमशः व्यावसायिक खेतीतर्फ अग्रसर हुँदै आएका छन् । व्यावसायिक खेतीका लागि गाउँपालिकाले खेतीको पकेट क्षेत्र छट्याउनुका साथै यस वर्षका लागि रु ४० लाख बजेट विनियोजन गरेको अध्यक्ष किस्मतकुमार कक्षपति बताउनुभयो ।   
गाउँपालिकाले स्थानीय तहमा आएको बजेटको निश्चित रकम विषयगत सेवाअन्तर्गत कृषिमा छुट्याएर खर्च गर्ने गरेको कृषि शाखा प्रमुख सुरेन्द्र ठाकुरको भनाइ छ । विशेषतः गाउँपालिकाको वडा नं २ र ३ का कृषक व्यावसायिकरुपमा कृषिखेती गर्दै आएका छन् । “हामीले कृषिमा लगानी गरे पनि पर्याप्त सहयोग पाउन भने सकेका छैनौँ, खजुरा तरकारी हाट बजारका अध्यक्ष कमला न्यौपानेको गुनासो छ । झण्डै ५१ हजार जनसङ्ख्या रहेको खजुरा गाउँपालिकामा करीब ७० प्रतिशत स्थानीय कृषि पेशामा आबद्ध छन् । जसमध्ये करीब ३० प्रतिशत किसानले अहिले व्यावसायिक खेती गर्दै आएका छन् । खजुरा गाउँपालिकाको वडा– ३ को बीगाउँ, केगाउँ र वडा नं २ को सिगाउँ, गाईघाटलगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । 
किसानले टमाटर, काउली, बन्दाकाउलीलगायत हरियो तरकारी उत्पादन गर्दै आएको छ । यहाँका किसानले व्यावसायिक रुपमा तीन कट्ठादेखि १५ बिघासम्म तरकारी खेती गर्दै आएको खजुरा–२ सीतापुरका किसान मोहनप्रसाद रिजालले बताउनुभयो । गाउँपालिकाको लगानी, कृषकको उत्साह र बजारको मागका आधारमा खजुरालाई व्यावसायिक खेती पकेट क्षेत्रका रुपमा विस्तार गर्ने प्रयासलाई भने सबैले सराहना गरेको पाइन्छ । 
बाख्रा र कुखुराको चल्ला वितरण
जिल्लाको दुर्गम र पिछडिएको राप्तीसोनारी गाउँपालिका—७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि बाख्रा र कुखुराको चल्ला उपलब्ध गराइएको छ  । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जीवीकोपार्जनका लागि साना किसान सहायता परियोजना’ अन्तर्गत सो सहयोग उपलव्ध गराइएको हो ।  
क्लबका अध्यक्ष परवेजअलि सिद्दिकीका अनुसार १२ विपन्न परिवारलाई प्रतिपरिवार १०० वटा कुखुराका चल्ला प्रदान गर्नाका साथै  खोर निर्माणका लागि पाँच थान जस्तापाता, एक बण्डल जाली, पाँच बोरा दाना र रु ४० हजार तथा   आठ परिवारलाई बाख्रापालनका लागि पाँच बाख्रा, दुईथान जस्तापाता र रु ५५ उपलव्ध गराइएको छ ।
सो वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामलखन थारु, कतार च्यारेटीका प्रबन्धक इर्शाद शेष र क्लबका अध्यक्ष सिद्दिकीले विपन्न परिवारका सदस्यहरुलाई बाख्रा र कुखुराका चल्ला हस्तान्तरण गर्नु भएको थियो । 
Categorized in राष्ट्रिय