STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यावसायिक भैँसीपालनमा दलित समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

वीरेन्द्रनगर–१ का ५० घरधुरी दलित समुदायले व्यावसायिक भैँसीपालनको शुरुआत गरेका छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैँसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैँसी अनुदान दिइएको हो । स्थानीय रामकला सार्कीले विगतमा आफूहरुको दूध बजारमा नबिक्ने हुँदा भैँसीपालन गर्न डराएको अनुभव सुनाउनुभयो । “पहिले हाम्रो दूध बिक्थेन, त्यसैले खेतबारी भए पनि भैँसी पाल्थेनौँ”, उहाँले भन्नुभयो, “आजभोलि विभेद पनि कम हुँदै गएको छ, डेरीबाटै दूधको माग हुने गरेकाले बजारको समस्या छैन ।” सो समुदायको दुध बेच्नमा सिर्जनशील कृषक समूहले बजार व्यवस्थापनका लागि सहजीकरण गर्ने भएको छ । अति विपन्न दलित समुदायले सित्तैमा दुहुनो भैँसी पाएपछि खुसी भएका छन् । अर्का स्थानीय राजु नेपालीले दूध बेचेर राम्रो आम्दानी गर्ने बताउनुभयो । वीरेन्द्रनगरमा दूधको अभाव रहेकाले बजारको समस्या नरहेको उहाँको भनाइ छ । “दूध सिधैँ डेरीले किन्ने प्रतिबद्धता जनाएकाले बजारको समस्या हुनेछैन”, राजुले भन्नुभयो, “पहिलेजस्तो दलित समुदायको दूध भनेर हेला पनि हुने अवस्था छैन, त्यसले गर्दा खुसी छौँ ।” वडाध्यक्ष गगन सुनारले दलित समुदायको जीविकोपार्जन सुधारका लागि भैँसीपालन नै उपयुक्त विकल्प भएको बताउनुभयो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भैँसीको औषधि उपचारमा व्यवस्था गर्नेछ । प्रदेशसभा सदस्य रातो कामीले दलित समुदायले केही गरेर देखाउनुपर्ने बेला आएको धारणा राख्नुभयो । भैँसी हस्तान्तरण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको सही सदुपयोग गरेर जीविकोपार्जन सुधार ल्याउन आग्रह गर्नुभयो । अनुदान सदुपयोग गरेमा दलित बस्तीको नमूना विकास गर्ने पक्षमा सरकार तयार रहेको उहाँको भनाइ थियो ।
Categorized in बिजनेस