STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शक्ति गौचन र जङ्गबहादुरलाई रुपन्देहीमा सम्मान

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ६, मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग इपीएल समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गर्नुभएको थियो । दायाँहाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले नेपालको तर्फबाट लगातार १८ वर्षसम्म क्रिकेट खेल्नुभएको थियो । नवौँ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेल्नुभएका गौचनले प्रतियोगिताबाट सन्न्यास लिएसँगै रुपन्देहीको पडसरीमा क्रिकेट एकेडेमी सञ्चालन गर्दै आउनुभएको छ । गौचनलाई सोमबार सिद्धार्थ रङ्गशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । उहाँलाई नगदसहित सम्मानपत्रले प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले सम्मान गर्नुभएको हो । गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक जङ्गबहादुर थापालाई पनि पुरस्कृत गरिएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि वितरण समारोहमा क्रिकेटका पूर्वचर्चित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । क्रिकेट खेलमा शक्ति र जङ्गबहादुरको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजक साइ ग्लोबल एकेडेमीका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो । यसैबीच चौथो साइ ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लीलाराम मावि भैरहवाको टोलीले जितेको छ । लीलारामले आयोजक साइ ग्लोबललाई २ विकेटले हराउँदै उपाधि हात पारेको हो । क्रिकेट प्रतियोगिता जितेसँगै उक्त टोलीले रु ५० हजारसहित ट्रफी एवं मेडल प्राप्त गरेको प्रतियोगिताका मुख्य व्यवस्थापक वासुदेव थापाले बताउनुभयो । प्रतियोगितामा म्यान अफ दि म्याच लीलाराम माविका खेलाडी पुरुषोत्तम भट्टराई, बेस्ट ब्याट्सम्यान काशी नोबल एकेडेमीका खेलाडी शङ्कर राना, बेस्ट बलर साइ ग्लोबलका खेलाडी मिर्नाल गुरुङ, म्यान अफ दी सिरिज लीलारामका खेलाडी दुर्गेश गुप्ता र बेस्ट प्लेयरको उपाधि साइ ग्लोबलका शाहब आलमले प्राप्त गरेको खेल संयोजक लक्ष्मण ज्ञवालीले राससलाई बताउनुभयो । गत माघ २० गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका विभिन्न कलेजका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
Categorized in खेलकुद