शङ्खधर प्रतिष्ठानलाई सहयोग गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शङ्खधर साख्वाः प्रतिष्ठानका लागि आवश्यक सहयोग गरिने बताउनुभएको छ । मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीलाई उहाँले साख्वाःको योगदानलाई सधैँ जीवन्त राख्न आवश्यक सहयोग गरिनेछ भन्नुभयो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मन्त्री भट्टराईलाई प्रतिष्ठानको सङ्ग्रहालय निर्माण गर्न आवश्यक जग्गाको व्यवस्था गरिदिन र साख्वाःको नाममा स्थापना गरिएको अक्षय कोषमा सहयोग गर्न माग गर्नुभयो । प्रदेश नं ३ सरकारले जग्गा भए सङ्ग्रहालय भवन निर्माण गरिदिने बताएकाले जग्गाको व्यवस्था गरिदिन मन्त्री भट्टराईसँग उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले प्रतिष्ठानले गर्नुपर्ने विभिन्न कार्यको चर्चा गर्नुभएको थियो । त्यस अवसरमा प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले शङ्खधर साख्वाःको योगदानबारेमा जानकारी दिनुभयो । –––


