शताब्दीपुरुष सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा विभिन्न कृतिको लोकार्पण
Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ बैशाख ३१, सोमबार
वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम आइतबार एक समारोह बीच समापन गरिएको छ।
शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापि कार्यक्रममा बैशाख २४ गते पुस्तक प्रदर्शन, २५ गते पुरानो गुह्यश्वरीमा १०५ दीप प्रज्वलन, २६ गते सङ्ग्रहालय अवलोकन, २७ गते नामसंगीति पाठ, २८ गते सत्यमोहन लोकसाहित्य वाचन, २९ गते साइकल र्याली र ३० गते कृति विमोचन गर्दै साताव्यापी कार्यक्रम सम्पन्न भएको हो।
आइतबार सत्यमोहन लोक साहित्य भवन परिसरमा विमोचन सम्पन्न पुस्तकहरुमा अष्ट गणेश अनुसन्धान केन्द्रका पाँच प्रकाशनहरु मल्ल के सुन्दर को ‘लुमन्ति किच’ : (संस्मरण सङ्ग्रह), विजय रत्न असंबरेको ‘संकिपाया न्हाय्कं’ , धर्मकृष्ण चपलिछें श्रेष्ठको ‘थिमि स्यस्यः बिनां’, ईश्वरी मैया श्रेष्ठको ‘नेपालभाषा पद्यःया किचः’र कृष्णप्यारी चन्द्यो श्रेष्ठको ‘बोदेया नीलबाराही द्यःगं नकेगु परम्परा’ लगायत लोक साहित्य परिषदबाट प्रकाशित अणुराज जोशीको " महाकाव्य ख्यः व शताब्दि अभिनन्दन ” कृतिको बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य लगायत नेपालभाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जन , कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र कृतिहरुका लेखकहरुले सार्वजनिक गर्नुभएको हो।
उक्त अवसरमा नेपाल र चीन मोहडाबाट सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नु भएका पहिलो पत्रकार नेवार महिला कल्पना महर्जनलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरियो।
सगरमाथा आरोही कल्पना महर्जनले ललितपुर महानगर पालिकाको आयोजनामा सत्यमोहन जोशीको सय वर्षको जन्मदिन मनाएको दिन सगरमाथाको शिखरमा सत्यमोहन जोशीको तस्बिर अङ्कित झण्डा फहराउन सफल भएको थियो ।
Categorized in साहित्य-कला

