STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शनिबार भीमसेन जात्रा मनाइने

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ६, शुक्रबार

मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र मनपर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् । भीमसेन मन्दिरमा शनिबार बिहानदेखि पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने मङ्गल टोल सुधार सङ्घले जानकारी दिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन राति भीमसेन जात्रा मनाइने चलन छ । सो जात्रामा उपत्यकाका काठमाडाँै, ललितपुर र भक्तपुर शहरका व्यापारीहरु पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेका सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिनुभयो । “जात्राका अवसरमा बेलुका भीमसेनको सानो मूर्तिलाई खटमा राखेर सुन्धारा, ओकुबहाल, हौगल, टङ्गाल, पिम्बहाल, पूर्णचण्डी कुम्भेश्वर हुँदै मङ्गलबजार परिक्रमा गराइन्छ”, धारीले भन्नुभयो, “रथयात्रा गराइने सो मूर्तिलाई दिउँसो नै मन्दिरबाट निकालिने गरिन्छ ।” जात्राका लागि भीमसेनको मूर्ति लिन जाँदा आँखा चिम्लेर अँध्यारो कोठाबाट झिकिने र सो मूर्ति हातमा पर्नासाथ रातो कपडाले छोपिने चलन रहेको बताइएको छ । भीमसेनलाई प्रत्येक टोलवासीले विशेष महत्व राखेर बासनादार धूप बालेर स्वागत गर्ने गर्छन् । यो जात्रालाई रातो मच्छिन्द्रनाथको जात्रापछिको दोस्रो ठूलो जात्राका रुपमा पाटनवासीले मान्ने गरेका छन् । सो अवसरमा पाटनका हजाराँै भक्तजनले विभिन्न टोलबाट विभिन्न परिकार चढाएर नगर परिक्रमा गर्दछन् । भीमसेनको उपासनाले घरघरमा श्रीवृद्धि हुने मान्यता रहँदै आएको छ । भीमसेनको प्रिय परिकार लड्डु र पेँडा चढाई पूजाआजा गर्दा व्यवसाय राम्रो हुँदै जाने सुन्धाराकी सरिता महर्जनले बताउनुभयो । देशभरका विभिन्न स्थानमा मनाइने भीमसेनको जात्रामध्ये ललितपुरमा हुने सो जात्रा सर्वाधिक लोकप्रिय मानिन्छ । चार वर्षअघि भत्किएको सो मन्दिरको पुनर्निर्माण हाल धमाधम अघि बढेको छ ।
Categorized in सिनेमा