STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शहरी विकास मन्त्री श्रेष्ठ र नेवाः पत्रकार राष्ट्रिय दबूबीच बृहत अन्तरक्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक २४, सोमबार

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीबीच शहरी विकासको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको तर्फबाट केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, सचिव केके मानन्धर, कोषाध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ, पूर्ण दुवाल, अस्मित मल्ल, विराजकाजी राजोपाध्याय लगायत ले काठमाडौं उपत्यका केन्द्रीत विकासको ढाँचालाई फेरेर मुलुकको समानुपातिक विकासको मोडेललाई अघि बढाउनुपर्ने, विकासको नाउँमा जथाभावी बाटो विस्तार, अनियन्त्रित आवास निर्माणलाई अन्त्य गरी सांस्कृतिक र पर्यावरण मैत्री शहर बनाउनुपर्ने, काठमाडौं उपत्यकाको बाटो विस्तारका सम्बन्धमा सर्बोेच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुपर्ने, निजी सम्पतिको हक उल्लंघन गरी भएका बाटो विस्तार रोक्नुपर्ने, गाउँलाई गाउँकै रूपमा विकास गर्ने नीति ल्याउनुपर्ने, बाटो विस्तार र निर्माणको नाउँमा जंगल फँडानी, पर्यावरण र सांस्कृतिक सम्पदा, अमूर्त संस्कृतिको नाश र काठमाडौ उपत्यकाको सभ्यता नष्ट हुने गरी नयाँ शहर बनाउनुको साटो देशका दूरदराजको विकासलाई प्राथमिकतामा राख्नुपर्नेजस्ता सुझाव दिनुभएको थियो ।

पत्रकारका तर्फबाट दिइएको सुझावपछि आफ्नो बिचार राख्दै मन्त्री श्रेष्ठले कोही पनि व्यक्ति आफैमा पोख्त नहुने कारणले सहरी विकास मन्त्रीको रुपमा आफूले सबैको सल्लाह, सुझावलाई मनन् गर्दै व्यावहारिक र वास्तविक सहरी विकासमा ध्यान दिने बताउनुभयो ।

एकै भेटमा सम्पूर्ण सुझाव दिन र लिन नसकिए पनि बाँकी दिनहरूमा थप भेटघाटमार्फत थप सुझाव लिने तथा त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो । उहाँले आपसी असमझदारीले समस्या मात्रै निम्त्याउने कारणले मन्त्री, राज्यमन्त्री, मेयरदेखि जनतासम्मको समन्वय र सहमतिमा शहरी विकासको कार्य गरिने बताउँदै  आफू जहिले पनि मुढपेल्याईमा होइन, सहमति र समझदारीमा विश्वास गर्ने व्यक्ति भएको बताउनुभयो ।

 

Categorized in राजनीति