STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबाट सन्देश जारी

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १६, आइतबार

माघ १६, काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छिन् ।

शहीद दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै उनले दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका शहीदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले शहीदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न दिवसले थप प्रेरणा प्रदान गर्नेछ पनि आशा व्यक्त गरेकी छिन् ।

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।

शहीद दिवस देशका लागि प्राण आहुति गर्ने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको स्मरण गर्दै उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताएकी छिन् ।

उनले वीर वीरङ्गानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवसका रूपमा मनाइँदै आइएको स्मरण गरेकी छिन् ।

शहीदको बलिदानले नै जनताको शासन स्थापित भएको हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले विसं २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको बताएका छन ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै शहीद मुलुकका सच्चा सपूत भएको बताएका छन ।

‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौँ, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौँ त्यो सबै सहिदहरूको योगदानबाट नै सम्भव भएको हो’, उनले उल्लेख गरेका छन ।

प्रधानमन्त्री देउवाले शहीदले आम नेपालीलाई रैतीबाट नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउन गरेको उच्च योगदानको कदर गरेका छन ।

उनले विसं २००७ को आन्दोलनमा मुलुकमा प्रजातन्त्र स्थापना गर्न ज्यानको आहूति दिने महान शहीद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदमा श्रद्धासुमन अर्पण गरेका छन ।

प्रधानमन्त्री देउवाले यस दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

Categorized in राष्ट्रिय