STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षाविद् एवम् साहित्यकार लक्ष्मण राजवंशीको स्मृति दिवस

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १४, सोमबार

शिक्षाविद् एवम् साहित्यकार सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसकाे अवसरमा    इन्स्टिच्यूटले एक समारोहको आयोजना गरेको    छ  । सो अवसरमा वक्ताहरूले लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले रु. २५, ०००/- (पच्चीस हजार रुपैयाँ) सहित सम्मानित गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्स्टिच्यूटका पूर्व विद्यार्थी डा. सर्वोत्तम श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा इन्स्टिच्यूटका कर्मचारी सन्तपाल डङ्गोलले राजवंशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै इन्स्टिच्यूटलाई यो अवस्थासम्म ल्याउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभयो । संस्थाप्रति लक्ष्मण राजवंशीको समर्पण, श्रम र निष्ठाको मुक्त कण्ठले प्रशंसा गर्दै डङ्गोलले उहाँको साहित्यिक योगदानबारे चर्चा गर्नुभयो । उहाँकै परिश्रम र दूरदर्शिताका कारण इन्स्टिच्यूटले सक्षम जनशक्ति निर्माणमा सकारात्मक भूमिका खेल्न सकेको बताउनुभयो।

समारोहमा इन्स्टिच्यूटका प्राचार्य रूपक राजवंशीले संस्थापक प्राचार्य तथा आफ्ना पिताको सम्झना गर्दै उहाँको त्याग र समर्पणका कारण विद्यालयबाट दीक्षित विद्यार्थीहरू विश्वभरि फैलिएर रहेका छन्; विद्यालयको ख्याति विश्वव्यापी बनेको छ भन्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समारोहका सभापति डा. सर्वोत्तम श्रेष्ठले लक्ष्मण राजवंशीको योगदानको चर्चा गर्दै पुरस्कृत व्यक्तित्व शारदा मरहट्ठाका बारेमा चर्चा गर्नुभयो ।

छहत्तर वर्षीया सम्मानित व्यक्तित्व शारदा मरहट्ठाले आफू सम्मानित भएकामा खुसी व्यक्त गर्दै आवश्यक परे अझै पनि इन्स्टिच्यूटको विकासमा आफू समर्पित हुने बताउँदै इन्स्टिच्यूटमा आफूले बिताएको तीस वर्षको कार्यकालको सुखद स्मरण गर्दै संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको कुशल र सक्षम अभिभावकीय नेतृत्वको चर्चा गर्नुभयो ।

इन्स्टिच्यूटका पूर्व विद्यार्थी यादव भट्टराईले झण्डै तीन दर्जन कृतिका स्रष्टा लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै यस दिनले हामीलाई उहाँकै पदचिह्नमा हिँड्न प्रेरित गरेको बताउनुभयो । यसका साथै भट्टराईले गुरुआमा शारदा मरहट्ठाको व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ स्पष्ट वक्ता र प्रेरक व्यक्तित्व भएको बताउनुभयो । 

समारोहमा भाइस प्रिन्सिपल सुनीता सिंह, सिद्धार्थ वनस्थली इन्स्टिच्यूट एलुम्नाइ एसोसिएसनका अध्यक्ष राजेश रौनियार, इस्टुका अध्यक्ष अर्जुन के. सी., शिक्षक ऋषिराम उपाध्यायलगायतले लक्ष्मण राजवंशीको योगदानको स्मरण गर्दै श्रद्धा व्यक्त गर्नुभयो ।

शिक्षा, साहित्य, समाजसेवा, प्रशासन एवं राजनीतिका क्षेत्रमा सुपरिचित सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशी नेपाली भाषा, नेपाल भाषा र अङ्ग्रेजी भाषामा कलम चलाउने स्रष्टाका रूपमा ख्यातिप्राप्त हुनुहुन्छ ।

Categorized in उपत्यका