STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शैक्षिक संस्थाका जग्गा अतिक्रमण बढ्दै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १८, बुधबार

कैलालीमा शैक्षिक संस्थाको जग्गा अतिक्रमण हुने क्रम बढ्दो छ । रामपुर कृषि विश्वविद्यालयमार्फत् सञ्चालित टीकापुरस्थित कृषि क्याम्पसको जग्गा अतिक्रमण हुन थालेको छ । क्याम्पसले आफ्नो जग्गामा तारबार लगाउने क्रममा केही व्यक्तिले टहरा बनाई अवरोध गरेका छन् । 
“क्याम्पसलाई जग्गा छुट्याउने बेला दुई घर थिए केही दिनमै दुई घर थपिएका छन्”, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सदस्य सचिव कृतिसिंह बमले भन्नुभयो, “यसरी दिन प्रतिदिन जग्गा अतिक्रमण बढ्ने हो भने भविष्यमा ठूलो सङ्कट आउँछ ।” उहाँका अनुसार क्याम्पसले आफ्नो जग्गामा तारबार गर्न नपाउनु र सरोकारवाला मौन बस्नु भनेको टीकापुरलाई उजाड बनाउने खेल हो ।
 
उहाँले बाढी पीडितका नाममा वीरेन्द्रको जग्गा अतिक्रमण भएको बताउनुभयो । “बाढीले बस्न सकिएन, सरकारलाई दबाब दिन भनेर वीरेन्द्रको खेलमैदानमा बसेका मान्छे यतिखेर जग्गा अतिक्रमण गरी बिक्री वितरणमा लागेका छन्”, बमले भन्नुभयो, “शैक्षिक संस्थाका जग्गा खाली गर्न स्थानीय राजनीतिक दलले पहल गर्न जरुरी छ ।” 
टीकापुरमा माओवादी जनयुद्धका नाममा जग्गा अतिक्रमण गर्ने काम शुरु भएको हो । टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा, वीरेन्द्र र खड्ग मेमोरियलको जग्गा अतिक्रमण गरी अव्यवस्थित बसोबास बसेको छ । “वर्षौँदेखि सर्वसाधारणलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, सत्यतथ्य छानबिन गरेर समस्याको समाधान गर्नुपर्छ”, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भन्नुभयो, “भोटको राजनीतिमा दलका नेता फँसेका छन्, टीकापुरको बृहत्तर हितभन्दा जनप्रतिनिधि हुनु ठूलो कुरा होइन ।” 
“वास्तविक भूमिहीन, सुकुम्बासी र मुक्तकमैयाको पहिचान गर्न सरकारले तुरुन्त पहल गर्न जरुरी भएको भन्दै उहाँले शैक्षिक संस्थाका जग्गा अनाधिकृतरूपमा खरीद बिक्री भइरहेकाले यस बारे स्थानीय सचेत हुन जरुरी रहेको बताउनुभयो ।
 
टीकापुर बजारमा जथाभावी ठेला र गुम्ती पसल  राख्ने गरिएको थियो । टीकापुर नगरपालिका, उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल मिलेर गुम्ती पसल र ठेलाले गरेको अतिक्रमण हटाइएको छ । स्थानीय राजनीतिक दल र स्थानीय सरकार गम्भीर हुने हो भने शैक्षिक संस्थाका जग्गा अतिक्रमणको समस्या हल गर्न सकिने टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “१२ वर्षदेखि क्याम्पसको ३०० बिघा जमीन अतिक्रमण छ । नेतृत्वले चाहेको भए समाधान हुन्थ्यो होला ।” 
Categorized in राष्ट्रिय