संक्रमणबाट थप तीनजनाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार
काठमाडाैं – नेपालमा काेराेना संक्रमणका कारण थप तीनजनाकाे मृत्यु भएकाे छ।
मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस संक्रमित रहेकाे छ ।
मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।
यसैगरी बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना पुरुषको मृत्यु भएको हो।
दुवैकाे भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कपिलवस्तु कृष्णनगरका ४२ वर्षीय पुरुष साउन २५ गते मात्रै अस्पतालमा भर्ना भएका थिए। गम्भीर प्रकृतिको लक्षण देखिएका उनलाई धागो कारखानास्थित अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जानकारी दिए। मृतक पुरुषको दाँया फोक्सोमा खराबी, निमोनिया, पिसापमा खराबी देखिएको उनले बताए।
अर्का मृतक २५ वर्षीया पुरुष मंगलबार राति मात्रै अस्पतालमा आएका थिए। कोरोना परीक्षणको स्वाब संकलन गरेर सिधै भेन्टिलेटरमा भर्ना गरिए पनि उनको मृत्यु भएको हो। उनी कपिलवस्तु तौलिहवाका हुन्। उनको कोरोना परीक्षण रिपोर्ट प्रतिक्षाकै क्रममा रहेको छ। उनमा किड्नीको समस्या देखिएको, उच्च रक्तचाप रहेको भेटिएको छ। कपिलवस्तु मै उपचार गरिरहेका उनी त्यहाँ उपचार हुन नसकेपछि बुटवल रिफर भएका थिए।
Categorized in राष्ट्रिय