संघहरु मध्ये जेठो केन्द्रीय मानन्धर संघले मनायाे ७०अाैं स्थापना दिवस
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष २८, बिहिबार
नेपालमा खुल्ने गरेका सम्पूर्ण संघहरु मध्ये पहिलो भनिएको केन्द्रीय मानन्धर संघले ७० अाैं स्थापना दिवस मनाएको छ । न्यूराेडस्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःकाे गुठी घरमा संघका संस्थापक सभापति भाजु देवीदास मानन्धरलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेकाे हाे । केन्द्रीय मानन्धर संघ देशभरकाे सामुदायिकतर्फ सबभन्दा जेठाे संस्था हाे ।
मानन्धरहरू संगठित भइसकेपछि क्रमशः मारवाडी, गुरूङ, चित्रकार, प्रजापति, महर्जन, डंगाेल, शाक्य बज्राचार्यलगायतकाे समुदाय संगठित भएको इतिहास छ । आजभन्दा ७० वर्षअघि अर्थात २०१० माघ १० गते शनिबार दइसाः टाेल तःबहिलका भाजु देवीदास मानन्धरले काठमाडौंका नाै वटा टाेलमा सघन बसाेबास रहेका मानन्धरहरूलाई भेला गरेर संघ स्थापना गर्नुभएको थियो । त्यसपश्चात संघलाई बिस्तार गर्ने क्रममा अाजकल संघमा देशभरका विभिन्न जिल्ला समेटेर ५८ वटा गुथि, खलः, पुचः, समूह अावद्ध रहेकाे छ ।
कार्यक्रममा प्रबुद्ध व्यक्तिकाे रूपमा संघले सम्मान दिएका मध्ये दक्षिण एशियाली खेलकुद अन्तर्गतकाे दाैड प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाएका भाजु बैकुण्ठ मानन्धर, ललितकला क्याम्पसका पूर्व कुलपति किरण मानन्धर, बाैद्ध धर्मका अध्येता तथा ई. गुहेश्वरी राज मानन्धर, शिक्षासेवी वसन्त कुमार मानन्धर, समाजसेवी पञ्चकुमारी मानन्धरसँगै पुरानाे कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई सहभागी गराएको थियाे ।
केन्द्रीय मानन्धर संघका सभापति वीरगन्ज पर्साैनीका भाजु मनाेज कुमार मानन्धरकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपसभापति बद्रीनारायण मानन्धरले अौपचारिक रूपमा स्वागत गर्नुभएको थियाे । स्वागतसँगै मन्तव्य राख्ने क्रममा भाजु मानन्धरले २०७९ माघ २४ व २५ गते हुँदैगरेकाे ईहि मुना कार्यक्रममा बेलबिबाह गराउनुपर्ने बालिकाहरूलाई सहभागी गराउन अाग्रह गर्नुभयाे । संघले सार्वजनिक गरेकाे सुचनामा उल्लेख भएकाे निर्धारित समयमै अाअाफ्ना बालिकाहरूकाे नाम दर्ता गर्न अाह्वान समेत गर्नुभयाे ।
Categorized in उपत्यका

