संसद् पुनर्स्थापना डा. केसी सत्याग्रह बस्ने
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २०, मंगलबार
काठमाडौँ – डा गोविन्द केसीले तीन सातामा आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।
डा केसीले मंगलबार विज्ञप्ति जारी गर्दै देशमा संवैधानिक संकट भएको र एक व्यक्तिले सिंगो राज्य कब्जा गर्ने प्रपञ्च चलिरहेको भन्दै त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् ।
शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको पनि उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं । आगामी तीन सातामा हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।’
उनले स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत रहेकाे बताउँदै कति मागहरु अहिलेसम्म पूरा नभएकाे बताएका छन् । ‘हामी एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत छौं । हाम्रा कति मागहरु अहिलेसम्म पूरा भएका छैनन् । र हामीसित भएका धेरै सम्झौता कार्यान्वयनमा गएका छैनन् । चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग बने पनि ऐनमा सुधार गर्नुपर्ने कुरा धेरै छन् । चिकित्सा शिक्षा नियमावली बनाउँदा विसं. २०८५ देखि मेडिकल शिक्षालाई गैर–नाफामूलक बनाउने भन्ने ऐनका प्रावधानहरु समेटिएका छैनन् । ऐन अनुसार सार्वजनिक संस्थाका रुपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति दिएका छैनन् । यी सबै एजेण्डाका लागि हामी निरन्तर लडिरहनेमा कसैले शंका नगरे हुन्छ,’ डा केसीको विज्ञप्तिमा उल्लेख छ ।
Categorized in राजनीति

