संसद विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाने
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ८, शनिबार
काठमाडौं - विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।
नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेको हो ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाइ लड्ने घोषणा गरेका हुन् ।
गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ । विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दावीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दै बैठकले आपत्ति समेत जनाएको छ ।


