संसद विघटन राष्ट्रघाती ठहर्याउँदै विवेकशील साझा पार्टीको विराेध प्रदर्शन
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष ६, सोमबार
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर अनायास संसद विघटनको सिफारिश गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम हो र यो संविधानमाथिको स्पष्ट 'कू' हो भन्ने ठहर गर्दै विवेकशील साझा पार्टीले एउटा प्रेस विज्ञप्ति गरेको छ ।
सो विज्ञप्तिमा नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको भन्दै संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई रहेको र सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन् भनि उल्लेख गरिएको छ । प्रधानमन्त्री अोलिले यो, लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घात गरेको र जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्ने विश्वास विवेकशील साझा पार्टीको रहेको छ ।
प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटका विश्वासिलो सहयोगीमा रूपान्तरित भएर राष्ट्रपतिको गरिमालाई नै बारम्बार गिराएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसपटक पदको गरिमा जोगाउन मन्त्रिपरिषदको सिफारिश सदर नगर्न विवेकशील साझा पार्टी जोडदार माग गरेकोछ।
बारम्बार अलोकतान्त्रिक,अनुदार व्यवहार गर्दै आएका प्रधानमन्त्री ओली बढ्दोरूपमा राष्ट्रघाती समेत देखिन थालेका छन्। संसद विघटनको उनको सिफारिशका बारे संघिय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल शुरू गर्न विवेकशील साझा पार्टी राष्ट्रपति भण्डारीसँग आग्रह गरेको छ भने प्रधानमन्त्रीको यो राष्ट्रघाती कदमकाविरुद्ध आम नागरिकहरू एक जुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकवद्ध हुन पनि विवेकशील साझा पार्टी आह्वान गरेकोछ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै गरी पार्टीले सोमबार नै पोखरा र काठमाडौंको बालुवाटार र माइतिघर लगायतका ठाउँमा विराेध प्रदर्शन पनि गरेको छ ।
Categorized in राजनीति

