सडक सजाउँदै काठमाडौँ महानगर, सरसफाईमा सक्रिय नगर प्रहरी
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३०, मंगलबार
विजयरत्न असंबरे
लकडाउन सुरु भएसँगै कोरोना संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कार्य गर्दै आएको काठमाडौँ महानगरपालिकाले मंगलबार करीब ४० को हाराहारीमा नगर प्रहरी सामाजिक दुरी कायम गर्दै सरसफाई अभियानमा सक्रिय भए । लकडाउनसँगै सडक किनारा र बीचका बोटबिरुवाको हाँगा बढेर सडकको सौदर्य विगारेपछि हाँगा छाँटकाट गर्ने, झार उखेल्ने, मरेका बोट–विरुवा उखेल्ने जस्ता कामको थालनी गरेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो । सापकोटाले लकडाउनको अवधिमा सडकहरु बेवारिसे छाड्दा सहरी सौदर्यता नै बिग्रिने भएकाले सरसफाईको कामलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । ‘आज मात्रै ४० को हाराहारीमा नगरप्रहरीसहितको टोली खटिएको थियो,’ उहाँले भन्नुभयो, ‘बगैँचामा काम गर्ने केही साथीहरुले हाम्रा प्रहरीहरुलाई सिकाउनु भयो । उहाँहरुको निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै उहाँहरुले काम गर्नुभयो ।’ आइल्याण्डमा समेत बिरुवा बढेर सहरी सुन्दरता बिग्रिएका कारण सहरी सौदर्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको सापकोटाले जानकारी दिनुभयो । ‘यस अघि सहरलाई नै कुरुप बनाउने गरी जथाभारी रुपमा राखिएका १३ हजार भन्दा बढी साना बोर्ड ४४ वटा ठूला होर्डिङबोर्ड हटाइसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले ९ मिटरमाथिको सडकका सबै होर्डिङबोर्ड क्लीयर गरेका छौँ । अब साना सडकमा छिर्नेछौं ।’ Categorized in राष्ट्रिय


