STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सन्तान टाढिएः चौतारी नै रमाइलो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हँुदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र  प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र  बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन् ।  बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र  सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । सडक किनारमा प्रतीक्षालय पनि बन्न थालेका छन् । यी ठाउँमा यात्रु प्रायः देखिँदैनन् ।
चितवन जिल्ला, भरतपुर महानगरपालिका–११ विशाल चोकमै वरपीपलको रुख छ । नजीकै प्रतीक्षालय छ । यहाँको छहारीमा प्रायः वृद्धवृद्धा नै सुस्ताइरहेका भेटिन्छन् । भरतपुर–११ का ८५ वर्षीय जगन्नाथ सुवेदी यही चौतारीमा दिनहुँ भेटिनुहुन्छ । भानु नगरपालिका तनहुँमा जन्मिनुभएका सुवेदी चितवनमा बस्ती शुरु हुन थालेपछि झर्नुभएको थियो । जागीरका सिलसिलामा उहाँ ‘पञ्चायत विकास अधिकारी’ ९पिडिओ० का रुपमा २०१७ सालमा पहिलो पटक चितवन आउनुभयो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।  सबै रोजगारीका लागि व्यस्त छन् ।  छोरा मधु २२ वर्षदेखि बेलायतमा हुनुहुन्छ । एक एक नाति नातिनी पनि उतै छन् । छोरीहरुको बिहेबारी भइसक्यो । “दिन कटाउन यही चौतारीको सहारा लिएको छु”, उहाँले भन्नुभयो, “प्रायः बिहान १० बजेदेखि यहीँ आउँछु, मजस्तै अरुलाई भेट्छु्, गफ ग¥यो, बस्यो ।” दिनभरि देशको अवस्थाबारे निकै मीठो गफ चल्छ । जीवन भोगाइबारेका कथा एकार्काले सुनाउँछन् । “छोरा कृषि विज्ञका रुपमा केही समय नेपालमै काम गरेको हो”, उहाँ सम्झनुहुन्छ, “अहिले परिवारसहित बेलायतमै छ, अत्यार लाग्दा बोलाउँछु ।” नातिनी बेलायतमै बिएस्सी पढ्दैछिन् । “छोरीको पढाइ सकेपछि नेपाल आउँछु, नआत्तिनू बुबा भनेर छोराले सुनाउँछ”, उहाँले भन्नुभयो, “यही चौतारी नै घरजस्तो लाग्छ, परिवारकै सदस्यसँगै बसेजस्तो अनुभव हुन्छ ।”
त्रिहत्तर वर्षीय टीकाराम पौडेल पनि दिनभर जमघटमै बस्न रुचाउनुहुन्छ । उहाँ घर सुनसान बनेपछि चौतारीमै आइपुग्नुहुन्छ । एक छोरा १० वर्षदेखि अष्ट्रेलियामै हुनुहुन्छ । चार छोरी पनि आफ्नै कर्मघरमा व्यस्त छन् । बेलाबेला नातिनातिना आउँछन् । अरु बेला घर सुनसान बन्छ । उहाँले करीब २६ वर्षसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा लेखा र पुस्तकालयमा काम गर्नुभएको थियो । उहाँ विसं २०२७ मा स्याङ्जा बाङ्िसङबाट चितवन झर्नुभएको थियो । “जागीरमा हुँदा एक्लो महसुस भएन”, उहाँले भन्नुभयो, “अहिले जागीर पनि छैन, छोराछोरी पनि नजीकै छैनन्, सन्तानको अभाव जस्तो लाग्दोरहेछ ।” रोजगारीका लागि विदेशिएपछि धेरै वृद्धवृद्धले  आफूले एक्लो महसुस गर्दै चौतारीमा आइपुगेको बताउनुहुन्छ । “देशमै काम गरेको भए हामीलाई पनि सन्तोष मिल्थ्यो”, उहाँ भन्नुहुन्छ, “बूढेसकालमा सहारा बढी चाहिने रहेछ, बरु स्वदेशमै लगानी गरेर बसे हुन्छ भनेर सम्झाउने गरेको छु ।” 
वृद्धवृद्धाकै आग्रहमा चौतारीमा कङ्क्रिटका कुर्सी राखिएका छन् । केहीले आफ्नै बचत रकममा कुर्सी बनाएका छन् । यहाँ एकै पटक ३० जना बस्न मिल्छ । कुनै बैठककै झल्को देखिन्छ । वरपीपलको छहारीले वृद्धवृद्धालाई ऊर्जा दिन्छ । पञ्चायतकालमा कुनै पार्टीको केन्द्रीय सदस्यसमेत बन्नुभएका थमनारायण लामिछाने उमेरले ७३ वर्षको हुनुभयो । पहिला राजनीतिमा निकै सक्रिय हुनुहुन्थ्यो । जाँचबुझ समितिको पनि जिम्मेवारी सम्हालेको अनुभव उहाँसँग छ । अहिले उहाँलाई चौतारी नै प्यारो बनेको छ । दुई छोरामध्ये जेठो सुमन र कान्छो  अमन अष्ट्रेलियामा छन् । उनीहरु विदेशिएको झण्डै १० वर्ष भयो । “कान्छो छोरालाई मैले नै पठाएकै हो, ठूलोलाई यहीँ क्याम्पस पढाएर बस भनेको थिएँ”, उहाँले भन्नुभयो, “तर सबैले विदेश नै ताक्ने हुँदोरहेछ, आखिर दुई वटै छोरा विदेशिए ।” उहाँ छोराहरुले आफूलाई “उतै जाऊँ” भन्दा नेपाल छाड्न मन नलाग्ने बताउनुहुन्छ । “एक्लै कसको घरमा जानू, काम गर्न अलिअलि सकिन्थ्यो होला, कामै छैन”, उहाँले भन्नुभयो, “अहिले तर शरीरमा अलिकति तागत छ, पिर छैन तर पछि बिरामी पर्दा स्याहार गर्न को आउलान् भन्ने पिर पर्छ ।” कलैया, गोरखा र चितवन बिहेबारी भएका छोरीहरुका परिवार बेलाबखत भेट्न आउँछन् । चौतारीमा पौराणिक, राजनीतिक र कहिलेकाहीँ ‘रोमान्टिक’ गफ चल्ने उहाँको भनाइ छ । चौतारीमा भेटिएका यी प्रतिनिधिमूलक पात्र हुन् । दिनभरि चौतारीमा रमाए पनि घर पुगेपछि उनीहरु निकै चिन्तामा पर्छन् । छोराछोरीले कमाए पनि साथमा नहुँदा उनीहरु निराश बन्छन् । वैदेशिक रोजगारीले गर्दा ज्येष्ठ नागरिकहरु एक्लिएका छन् ।
Categorized in राष्ट्रिय