सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारकाे तयारी
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ८, आइतबार
काठमाडौं - सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएकाे छ । आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। पर्यटनमन्त्री श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतबार मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सावजनिक गरेको हो।
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने दाबी गरे। सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने बताउँदै उनले वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गर्ने बताए ।
मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना भएको बताए। भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको भन्दै उनले सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्ने अठाेट व्यक्त गरे । यो उद्देश्यले दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं ।
यस्तै, कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले तीन महिनाभित्र सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गरिसक्ने गरी तयारी भएको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताए।
नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने उनले बताए ।
सगरमाथा आधार शिविरबारे साेकाे ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यमा हुने जोखिमका सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए । त्यस्तै, काठमाडौं उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटक बसपार्क निर्माणको कामलाई छ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ ।
मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ । हिमाल आरोहणको लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण छ महिना भित्र खुला गर्ने तयारी गरेको छ ।
Categorized in राष्ट्रिय

