STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सभामुखद्वारा सरकारलाई निर्देश

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १९, सोमबार

पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीकी सरिता गिरीले सभामुखसँग समय मागेर मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको थियो । सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले भन्नुभयो, “सरकार र आयल निगमले आआफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन् । संसद्लाई सरकारले छलेको छ । करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास भए पनि सरकारले कर बढाएको छ ।” सांसद गिरीले यस विषयमा आइतबारको बैठकमा समेत उठाएको जानकारी दिँदै सभामुखमार्फत सरकारलाई निर्देश गर्न आग्रह गर्नुभएको थियो । बैठक शुरु हुनेबित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय प्रदान गर्नुभएको थियो । सांसद गिरीले भन्नुभयो, “सरकारको कर प्रणालीका कारण जनतालाई सास्ती भएको छ, जनतालाई ८५ प्रतिशत करको भार परेको छ, यो संसारमा कहीँ पनि छैन, दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्छ ।”
Categorized in राष्ट्रिय