STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सभामुखले बोल्न समय उपलब्ध नगराएको काङ्ग्रेसको आरोप

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ४, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गर्नुभएकामा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको ‘वेल’ घेर्नुपर्ने अवस्था सिर्जना भएको तथा सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य भएको भनी टिप्पणी गरिएको छ । प्रधानमन्त्री युरोप भ्रमण जाँदा सदनलाई कुनै जानकारी नदिएको र भ्रमणको पाँच दिनपछि मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्रीको युरोप भ्रमणबारे जानकारी भएको काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी सो पार्टीले मङ्गलबार प्रतिनिधिसभा बैठकमा भएको घट्नाको व्यवहारले ‘सरकार बहुमतको, संसद् प्रतिपक्षको’ भन्ने मान्यता कार्यान्वयन नभएको भनी टिप्पणी गरेको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्न खोज्दा संसद्मा द्वन्द्व भएको आरोप लगाउनुभएको छ । संसद्मा प्रधानमन्त्रीले सम्बोधन गर्नुपूर्व प्रतिपक्षी नेताले आम नागरिकका चासोका विषयमा कुरा राखिसकेपछि प्रधानमन्त्रीले त्यसउपर आवश्यक सम्बोधन गर्दा लोकतान्त्रिक, व्यवहारिक र हार्दिक हुने विज्ञप्तिमा उल्लेख छ ।
Categorized in राजनीति