STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत : सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउनेदेखि किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क दिइने

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ५, शुक्रबार

काठमाडौँ - सरकारले यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्राम स्थल निर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले राजमार्गहरुमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेशन निर्माण गर्ने घोषणा गरे ।

त्यस्तै सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाई, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारले नदीनाला र तथा पानीको श्रोतलाई प्रदुषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र बिस्तार गर्ने भएको छ ।

निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विमानस्थल निर्माणअघि बढाइने बताएका छन् ।

लामो समयदेखि निर्माण गर्ने चर्चा भएको निजगढ अन्र्तराष्ट्रिय बिमानस्थल अहिले भने निर्माण गर्नुपर्ने नपर्ने दुइ खालको बहस चलिरहेको थियो ।

यसैबीच सरकारले निर्माण सुरु गर्ने स्पष्ट पारेको छ । यस्तै, निर्माण सम्पन्न भएका विमानस्थलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने, हवाइसुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने र वायुसेवा निगमको पुर्नसंरचना गर्ने नीति लिने पौडेलले बताए ।

साना किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क

सरकारले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरण गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो योजना ल्याएको हो ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तराईमा सिँचाइ नपुग्ने स्थानमा नमुना आयोजनाको सम्भावना अध्ययन गरिने समेत बताएका छन् ।

विदेशमा रहेका नेपालीले निर्वाचनमा भाग लिन पाउने, लाइसेन्स लिन राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं- अब विदेशमा रहेका नेपालीहरुले पनि निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने बताएका हुन् ।

उनले भनेका छन्, ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’

यस्तै, नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिँदा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य रुपमा चाहिने व्यवस्था पनि गरेको छ ।

उक्त कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नवप्रवर्तन आविष्कार कोष स्थापना गरिने

सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनसँगको सहमति नीति तथा कार्यक्रममा समेटेको छ ।

शुक्रबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारसम्बन्धी कोष सञ्चालन गरिने विषय पेस गरिनेसमेत सरकारले जनाएको छ ।

गएको वैशाख १८ गते सरकार र पुनबीच ७ बुँदे सहमति भएको थियो । पुनले बजेटको १ प्रतिशत नवप्रवर्तन तथा आविष्कारमा लगानी गर्नुपर्ने मागसहित धर्नामा उत्रिएका थिए । धर्नामा उत्रिएको केही दिनमा सरकार र पुनबीच सहमति भएको थियो ।

Categorized in राजनीति