सरकारलाई ध्यानाकर्षण : नेवाः लहना विश्व सरसफाई अभियान सिसडोल र बञ्चरे डाँडा अवलोकन
Janjati Khabar – ललेन्द्र शाक्य | २०७८ आश्विन ७, बिहिबार
विगत १३ वर्ष अगाडि नै निर्माण गर्ने भनी सरकारले घोषणा गरेको बञ्चरे डाँडा ल्याण्ड फिल साइट हालसम्म पनि निर्माण कार्य सम्पन्न भईनसकेको अवस्था छ । हाल करिव ४५ प्रतिशतमात्र काम सकिएको बञ्चरे डाँडा ल्याण्ड फिल साइटमा सरकारले उपत्यकाको फोहोर फाल्न मिल्ने बताउँदै उपत्यकाबासीलाई झूठो आश्वासन दिदै आइरहेको छ । सरकारले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्नुपर्नेतिर ध्यान दिनु त कता कता, जनताहरुसंग झूठको खेती गर्नतिर सरकार लम्किरहेको सरसफाई अभियन्ताहरु बताउँछन् ।
सरकारले दिएको यही झूठो आश्वासनलाई चिरफार गर्न केही दिन अघि नेवाः लहना विश्व सरसफाई अभियानका अभियन्ता राजमान मानव र सुशीला महर्जनको नेतृत्वमा काठमाडौंका विभिन्न सरसफाई अभियानका अभियन्ताहरु सम्मिलित टोलीसहित उपत्यकाको फोहोर फाल्ने नुवाकोटको ककनी गाउँपालिका २ वडास्थित सिसडोल डम्पिङ साइट हुँदै बञ्चरे डाँडा ल्याण्ड फिल साइटको अवलोकन गरिएको थियो ।

२ वर्षको लागि भन्दै सरकारले अधिग्रहण गरेको सिसडोल डम्पिङ साइटमा काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने कार्य १७ वर्ष पुगिसकेको छ । १७ वर्षको अवधिमा सरकारले न सिसडोलका स्थानीयहरुको स्वास्थ्यमा ध्यान दिइयो, न त स्थानीय बासिन्दाका मागहरु पूरा नै गरियो । सिसडोल पुग्ने बाटाघाटाहरु पाईलै राख्न नमिल्ने हिलाम्मेको हिलाम्मै । बाटो निर्माणको विषयमा न सरकारको, न त सरोकारवालाहरुको, न त जनप्रतिनिधिहरुकै ध्यान केन्द्रित भएको छ । सरकार, सरोकारवाला तथा जनप्रतिनिधिहरुले जनताहरुको गुनासो नसुनेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

सिसडोलको अव्यवस्थित फोहोरका कारण आसपासका गाउँका बासिन्दाहरुमा विभिन्न रोगले संक्रामक हुने गरेको र अस्पतालसम्म विरामी लैजान समेत अप्ठेरो परिस्थिति सिर्जित भइरहेको जानकारी पनि स्थानीय बासिन्दाले दिएका छन् । काठमाडौं उपत्यकाद्वारा हेपिएको सिसडोलका फोहोरको डुंग्रोबाट रगत रुपी लिचड बग्दै नदि खोलामा मिसिरहेको र फोहोरका लेदो लिचडका कारण बालीनाली पनि नष्ट भइरहेको त्यहाँका स्थानीय बासिन्दाहरु बताउँछन् ।
नुवाकोट ककनी २ को सिसडोल डम्पिङ साइटको फोहोरमा सरकारले न त किटनाशक औषधी एवं दुर्गन्ध नष्ट गर्ने औषधी छर्ने कार्य गरियो, न त दिनहुँ पाँचसयको हाराहारीमा उपत्यकाको फोहोरको गाडी गुड्ने सडक मर्मत सम्भार एवं निर्माण कार्यमा ध्यान दिइएको छ । यसरी सिसडोलका जनताहरुमाथि काठमाडौं उपत्यकाको फोहोर विसर्जनको बहानामा स्वास्थ्य एवं सुविधाप्रति कहिलेसम्म खेलवाड गरिरहने हो सरकार ?

सरकारले भनिरहेका छन् कि अब आधुनिक प्रविधियुक्त दीर्घकालीन योजनाको बञ्चरे डाँडा ल्याण्ड फिल साइट निर्माण भइसक्यो, त्यहाँ उपत्यकाको फोहोर विसर्जन गरे पनि हुन्छ । धादिङको धुनीबेसीमा पर्ने बञ्चरे डाँडामा निर्मित आधुनिक प्रविधियुक्त दीर्घकालीन बञ्चरे डाँडा ल्याण्ड फिल साइट निर्माण कार्य हालसम्म केवल ४५ प्रतिशत मात्र कार्य सम्पन्न भएको खुलासा नेवाः लहना विश्व सरसफाई अभियानसहित काठमाडौं उपत्यकाका विभिन्न सरसफाई अभियानका अभियन्ताहरुको केही दिन अघिको बञ्चरे डाँडा ल्याण्ड फिल साइट अवलोकनका क्रममा खुलासा भएको छ ।
बञ्चरे डाँडा ल्याण्ड फिल साइट निर्माणको क्रममा फेज एक फोहोर विसर्जन गर्ने क्षेत्र मात्र निर्माण कार्य सम्पन्न भएको छ । उक्त फोहोरबाट बग्ने लेडो लिचड भण्डारण हुने क्षेत्रको निर्माण कार्य हालसम्म पनि अधुरै रहेको छ । यस सन्दर्भमा सरकारले काठमाडौं उपत्यकाका बासिन्दाहरुलाई आँखामा छारो हाली ढाँटीरहेको छ कि बञ्चरे डाँडामा उपत्यकाको फोहोर फाले पनि हुनेभो भनी । यतिसम्म कि सरकारले त्यहाँका स्थानीय बासिन्दाहरुलाई बेवास्ता गरी एकल काँटेभै मनोमानी गरिरहेको छ ।

बञ्चरे डाँडाका स्थानीय बासिन्दाहरुले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेमा फाल्न अवरोध नगर्ने तर पूर्ण रुपमा ल्याण्ड फिल साइट निर्माण कार्य सम्पन्न नभएसम्म र त्यहाँका स्थानीयहरुको स्वास्थ्यदेखि रोजगार एवं सुविधाको छिनोफानो नभएसम्म फोहोर फाल्न नदिने भन्दै बञ्चरे डाँडोलाई सिसडोलको जस्तो कहाली लाग्दो हबिगत हुन नदिने बताउँछन् ।
बञ्चरे डाँडा ल्याण्ड फिल साइट निर्माण कार्य सम्पन्न गर्नुपर्ने मिति नाघिसकेको छ र सरकारले निर्माण कार्य ढिलासुस्ती गरिरहेको छ । यस विषयमा बञ्चरे डाँडा आधुनिक दीर्घकालीन ल्याण्ड फिल साइट निर्माण कार्यमा सम्मिलित शहरी विकास तथा भवन निर्माण विभाग सरकारी कर्मचारीहरु पनि अनभिज्ञ छन् ।
विगत १२ वर्षदेखि फोहोरमैला सरसफाईमा समर्पित हुँदै आइरहेको नेवाः लहना विश्व सरसफाई अभियानका अभियन्ता राजमान मानव र सुशीला महर्जनको नेतृत्वमा केही दिन अघि काठमाडौं उपत्यकाका विभिन्न सरसफाई अभियानका अभियन्ताहरु सम्मिलित टोलीले बञ्चरे डाँडा ल्याण्ड फिल साइटको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा बञ्चरे डाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्ड फिल साइट हालसम्म केवल ४५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको खुलासा भएको छ र सरकारलाई चाँडोभन्दा चाँडो उक्त बञ्चरे डाँडा ल्याण्ड फिल साइट निर्माण कार्य सम्पन्न गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले उक्त अवलोकन टोली बञ्चरे डाँडा पुगेका हुन् ।

अवलोकन टोलीले उक्त ल्याण्ड फिल साइट निर्माण उत्कृष्ट भएको तर सरकारले निर्माण कार्य सम्पन्न गर्न ढिलाई गरिरहेकोले निर्माण कार्य चाँडो सम्पन्न गर्न सरकारलाई आह्वान गरेका छन् । सरकारले आधुनिक दीर्घकालीन योजनाको रुपमा निर्माण गरिरहेको बञ्चरे डाँडा ल्याण्ड फिल साइट सम्पन्न गरेको खण्डमा काठमाडौं उपत्यकाबासी फोहोर विसर्जनको कहाली लाग्दो सास फेर्नबाट मुक्त हुनेछ । यस विषयमा सरकारको ध्यान जाओस् ।
Categorized in राष्ट्रिय

