STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या : नेपाल

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २३, शनिबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको बताएका हुन् ।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरूले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे ।

‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरू देखापरे । सामूहिकताका भावनाहरू हराउन थाले । अरुका ज्ञान अनुभवहरूलाई बेवास्ता गर्न थालियो । मै सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखापर्‍यो । त्यो समस्या हामी हल गर्न चाहिरहेका छौँ । तर के हल गर्नका लागि पार्टीभित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौँ ? हामी, हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौँ ।’

वरिष्ठ नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे । इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्‍याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।

वरिष्ठ नेता नेपालले आफूभित्र रहेका त्रुटिहरू स्वीकार गरेर अघि बढने आँट गर्न पनि आग्रह गरे । उनले भने, ‘त्रुटि नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटि हुन सक्दछ । सबै सुध्रिउन । देश, जनता र राष्ट्रका लागि समर्पित होऔँ ।’

Categorized in राजनीति