STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सवारी दुर्घटनामा कलाकार एव‌ं पत्रकारकाे निधन

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १४, आइतबार

काठमाडाैं - रुपन्देहीमा गए राति सवारी दुर्घटनामा परी एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन हो । बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करीब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पछिल्लो समय पत्रकारितामा नै व्यस्त पाण्डेले पावरन्युजनेपाल अनलाइन सञ्चालन गर्दै आउनुभएको थियो । स्थायी घर स्याङ्जाको बिर्घा रहेका पत्रकार पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो । पाण्डेको निधनमा तिलोत्तमा मिडिया क्लबले दुःख व्यक्त गरेको छ । अध्यक्ष लक्ष्मण पौडेलले शोक विज्ञप्ति जारी गरी क्लबका सदस्य पाण्डेको सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा भएको असामयिक निधनले क्लबलाई मर्माहत तुल्याएको जनाउनुभएको छ ।
Categorized in अपराध-दुर्घटना