STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहकारीले राष्ट्रिय आम्दानीमा योगदान दिनुपर्छ ः मन्त्री अर्याल

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल साना किसान कृषि सहकारी सङ्घ केन्द्रीय समितिले आयोजना गरेको नेपालमा सहकारीको आगामी पुस्ताका लागि ढाँचाको तयारीसम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री अर्यालले किसानको घरदैलोमा पुग्न साना किसान कृषि सहकारीहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिने गरी अगाडि बढ्नुस् । मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्ने गरी अगाडि बढ्नुस् ।” अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडि बढ्नुपर्ने भन्दै उहाँले जमीन बाँझो राखेर समृद्ध हुन नसकिने बताउनुभयो । “भूमि साधन पनि हो, स्रोत पनि हो । पूँजीको महत्वपूर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो । अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो । भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उहाँले व्यावसायिक बन्नका निम्ती ऐन, कानूनले पनि प्रबन्ध गरेको बताउनुभयो । अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । “भएको जमीनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ । त्यो योजनाका साथ हामी अगाडि बढौँ”, मन्त्री अर्यालले भन्नुभयो । पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको बताउँदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताउनुभयो ।
Categorized in राष्ट्रिय