STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सहकारी ठगी प्रकरण : छानबिन समितिले आइतबारदेखि काम थाल्ने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २०, आइतबार

काठमाडौं- सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ।

सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको छ।

संसदीय समिति कालका लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए। उनले भने, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ। सम्भवतः हामी आइतबारदेखि नै काम थाल्नेगरी तयारीमा जुटेका छौं। आवश्यक बन्दोबस्त मिलाइदिन सभामुख समक्ष आग्रह गरेका छौं । 

सिंहदरबार भित्रै कार्यालय कायम हुने समेत थापाको भनाइ छ। सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उनको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो। 

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईदुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकएक जना सांसद राखिएको छ।

समितिमा कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापासहित सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

संसदीय समितिलाई आवश्यक छानविन गरि प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ। 

Categorized in राजनीति