सांसद सरिता गिरीको विधेयक संशोधन अस्वीकृत
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३१, शनिबार
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीद्वारा दर्ता गरिएको संविधान संशोधन विधेयकमाथिको संशोधनको सूचना अस्वीकृत भएको जनाएका छन् ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै दफावार छलफल सुरु गरिएको छ ।
दफावार छलफल सुरु हुनासाथ सांसद गिरी आफ्नो स्थानबाट उठेर सभाको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले सांसद गिरीद्वारा पेश भएको संशोधन सूचना अस्वीकृत भएको जानकारी दिएका हुन् ।
‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ११२ मा उल्लेख भएका संशोधनसम्बन्धी शर्त पुरा नभएकोले तपाईको संशोधन सूचनालाई अस्वीकृत गरिएको छ,’ सभामुख सापकोटाले भने ।
Categorized in राजनीति