सात दिनको लागि कर्णाली प्रदेश सिल
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २२, सोमबार
काठमाडौं – सोमबार राति १२ बजेदेखि लागु हुने गरी सात दिनको लागि कर्णाली प्रदेश सिल गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश सरकारले सिलको निर्णय लिएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशसँग जोडिएका सीमा नाका सिल गर्नुका साथै २७ स्थानमा मेडिकल मार्च अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक एम्वुलेन्स र रेफर गर्नुपर्ने विरामीले प्रयोग गरेका सवारी–साधनबाहेकका कुनै सवारी साधनहरु कर्णालीमा प्रवेश निषेध गरिएको छ ।
प्रदेश सरकारले दक्षिणबाट हिँडेर आउनेहरुलाई पनि प्रदेशमा भित्रिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिएको छ । बर्दियासँग सीमा जोडिएको बबई, दाङसँग सीमा जोडिएको सल्यानको कपुरकोट, सुदूरपश्चिमसँग सीमा जोडिएको कैलालीको कुइने नाकाहरुमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि विपद् व्यवस्थापन परिषद्ले गरेको छ ।
Categorized in राष्ट्रिय