सामुदायिक स्वास्थ्य एकाइ सेवा प्रभावकारी बन्दै
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १७, शुक्रबार
चितवनको इच्छाकामना गाउँपालिका–७ का शान्ति तामाङ झण्डै दुई महीनादेखि टाउको दुख्ने समस्याबाट ग्रसित हुनुहुन्थयो । तर उहाँ अस्पताल जानुभएको थिएन । नजिकै स्वास्थ्य जाँच गरिन्छ भनेको थाहा पाएपछि साउन १५ गते उनी जँचाउन सामुदायिक स्वास्थ्य एकाइ स्याङदीमा पुग्नुभयो । उहाँको शरीरमा रगतको मात्रा केही कमी भएको पाइयो । यो ठूलो समस्या नभएको र प्रशस्त पानी पिउन र खानपिनमा ध्यान दिन चिकित्सले सल्लाह दिए । उहाँलाई आवश्यक परामर्शपछि टाउको दुख्ने समस्या रहिरहे पुनः स्वास्थ्य संस्था आउन भन्दै निःशुल्क औषधि पनि दिएर पठाए ।
कान्छीमाया तामाङ पनि लामो समयदेखि छाती दुख्ने र पिसाब पोल्ने समस्या लिएर स्वास्थ्य एकाइमा आइपुग्नुभयो । स्वास्थ्य संस्था टाढा भएकाले जँचाउन नगएको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासी स्वास्थ्य संस्था नजिक नहुँदा प्रायः शुरुआती चरणमा स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थासम्म नपुग्ने सामुदायिक स्वास्थ्य एकाइ स्याङदीका अहेव सञ्जु सिम्खडा बताउनुहुन्छ । उहाँका अनुसार गाउँमै स्वास्थ्य संस्था नभएको भए कान्छीमाया र शान्ति अझै यत्तिकै बस्नुहुन्थ्यो ।
प्रायः जब रोग बढ्दै गएपछि मात्र अस्पताल जाने गर्छन् । आजभोलि भने गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापनापछि स्वास्थ्यमा सामान्य समस्या आउन बित्तिकै जँचाउन आउने गरेको अहेव सिम्खडाले बताउनुभयो ।
यहाँ असारदेखि सामुदायिक स्वास्थ्य एकाइबाट सेवा दिन शुरु भएपछि स्वास्थ्य जाँच गराउन आउनेको सङ्ख्यामा वृद्धि हँुदै गएको छ । सेवा शुरु गरेको असार महीनामा १९१ ले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । साउन १ गतेदेखि १५ गतेसम्ममा ११८ ले स्वास्थ्य जाँच तथा उपचार गराएको अहेव सिम्खडाले जानकारी दिनुभयो ।
यहाँ जनजाति सीमान्तकृत चेपाङ र दलित समुदायको बसोबास छ । जनचेतनाको अभावले पनि स्वास्थ्य संस्थासम्म उनीहरु जाँदैनन् । यहाँका स्थानीयवासी उपचारका लागि कालिका नगरपालिका तथा भरतपुर जान बाध्य छन् । समयमा सवारीसाधन नपाउँदा घण्टौँसम्म हिँडेर जानुपर्ने बाध्यता पनि छ । सामुदायिक स्वास्थ्य एकाइ स्थापनापछि यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज भएको छ । यसअघि सामान्य रुघाखोकी, ज्वरो आउँदा घाउचोट लाग्दासमेत घण्टौँसम्म हिँडेर कालिका नगरपालिका नै पुग्नुपर्ने बाध्यता रहेको थियो । यहाँ अहिले दुई स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् ।
Categorized in राष्ट्रिय


