सार्दीखोला बाँझखेत देउराली कोलचोक सडक स्तरोन्नति
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १६, बिहिबार
कास्कीको माछापुच्छ«े गाउँपालिका–२ मा सार्दीखोला बाँझखेत देउराली हुँदै कोलचोक भुर्जुङखोला सहायक मोटरबाटोको स्तरोन्नति गर्ने कार्य शुरुआत भएको छ ।
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीको रु ३४ लाख ९३ हजार लागतमा नालासहितको ग्राभेल सडक निर्माण कार्यको बुधबार गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले शिलान्यास गर्नुभयो । विसं २०६२ मा सडकको ट्रयाक खोलिएकोमा पहिलोपटक सात मिटर सडक र एक मिटर नालासहित आठ मिटर फराकिलो स्तरीय सडक निर्माण कार्य शुरु गरिएको हो ।
सार्दीखोला खारपानी सडकको सहायक सडकका रुपमा रहेकाले यसबाट गण्डकी रेन्बो ट्राउट जाने आन्तरिक तथा बाह्य पर्यटकका लागिसमेत सुविधा पुग्ने विश्वास गरिएको छ । त्यसैगरी सार्दीखोला, घलेखर्क हुँदै सिक्लेस पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत यसबाट लाभान्वित हुनेछन् । सार्दीखोलामा रहेको ट्राउट पोखरा तथा देशभर अहिले प्रख्यात छ ।
सडकको ट्रयाक खुलेको लामो समयदेखि मर्मत हुन नसकेको मुख्य बस्तीको सडक स्तरोन्नति गरी फराकिलो बनाउने कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव आचार्यले घर अगाडिको सडक वर्षौंदेखि जीर्ण रहेकोमा प्रदेश सरकारबाट बजेट विनियोजन भएर स्तरोन्नतिको कार्य शुरु भएपछि आफूहरुमा उत्साह जागेको बताउनुभयो ।
प्रदेशसभा सदस्य बरालले समृद्ध नेपाल निर्माणको जग हाल्ने कार्य शुरु भएको र देशभर पूर्वाधार विकासको कार्यले गति लिएको बताउनुभयो । माछापुच्छ«े वडा नं २ र ३ जोड्ने गरी सेतीनदीमाथि आकर्षक पुल निर्माण कार्य यसै वर्ष शुरु हुने भएकाले सार्दीखोलावासीलाई गाउँपालिकाको केन्द्र पुग्न सहज हुने उल्लेख गर्नुभयो । उच्च अदालत पोखराका न्यायाधीश विनोदमोहन आचार्यले सडक स्तरोन्नतिको क्रममा सानो मन नगर्न स्थानीयलाई आग्रह गर्नुहुँदै अहिले थोरै सडक बाटोका लागि प्रयोग भए पनि पछि त्यसको मूल्य बढी हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, पूर्वाधार विकास कार्यालयका प्रमुख शोभियत खड्का, पूर्व गाविस अध्यक्ष हर्कबहादुर क्षत्रीलगायतले समयमै निर्माण कार्य पूरा भएर स्थानीयलाई सहज हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


