STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्वजनिक जग्गा खोजी गर्दै काठमाडौँ महानगरपालिका

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २३, बिहिबार

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सार्वजनिक जग्गाको अभिलेख राख्ने भएको छ । सबै वडा कार्यालयमार्फत महानगरभित्रका सार्वजनिक जग्गाको खोजी गरेर एकीकृत तथ्याङ्क राख्न लागिएको कामपाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि महानगरवासीले आफ्नो वडामा भएका सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने चाहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । छ महीना पहिले सबै वडालाई आफ्नो वडा भित्रका सार्वजनिक जग्गाको विवरण पठाउन कामपाले परिपत्र जारी गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले वडावडाबाट विवरण आइरहेको छ । उहाँले भन्नुभयो, “३२ वटै वडा कार्यालयबाट विवरण आएपछि नै एकीकृत तथ्याङ्क हुनेछ ।” अहिलेसम्म कुन निजी जग्गा हो र कुन सार्वजनिक जग्गा भन्ने छुट्टाउन नसक्दा समस्या आइरहेको प्रवक्ता डङ्गोलले बताउनुभयो । कामपासँग सबै जग्गाको एकीकृत तथ्याङ्क भएपछि कुनै पनि ठाउँमा जग्गासम्बन्धी विवाद हुनासाथ तत्काल समाधान निस्कने उहाँले बताउनुभयो । जग्गासम्बन्धी विवाद आउनासाथ कामपाले आफूसँग भएको विवरणबाट तत्काल जग्गाको प्रकृति पत्ता लगाउन सक्ने बताइएको छ । उहाँले भन्नुभयो, “अहिले सार्वजनिक जग्गा मिचिएको भन्ने उजुरी परेपछि पहिले जग्गाका बारेमा बुझ्न फाइल खोज्नुपर्ने अवस्था छ, जुन हटाउन हामी लागि परेका छौँ ।” भूकम्पपछि नै नागरिकमा सार्वजनिक जग्गाबारे जागरुकता बढेको प्रवक्ता डङ्गोलले बताउनुभयो । भूकम्पका समयमा सुरक्षित बस्न ती सार्वजनिक जग्गा प्रयोग हुँदा वा भएका सार्वजनिक प्रयोग गर्न नपाउँदा स्थानीयवासीले यसको महत्व बढी बुझ्न थालेको डङ्गोलले बताउनुभयो । भविष्यमा आउनसक्ने जोखिमका लागि पनि सुरक्षित स्थान आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासी अहिले आफैँ खोजी गर्ने र महानगरलाई घचघचाउन थालेका छन् ।” सबै ठाउँमा व्यक्तिले निजी जग्गा मिचेको मात्रै नभएर कतिपय स्थानमा व्यक्ति मारमा परेको पनि कामपाले जनाएको छ । विशेष गरेर खोला नजिक जग्गा भएका स्थानीयवासीहरु वर्षाको समयमा खोला फैलँदा हैरान भएको उहाँले बताउनुभयो । त्यसो त एउटा वर्ष खोला एकातिरबाट त अर्को वर्ष अर्कै बाटोबाट हिँड्ने गरेको छ । कुनै वर्ष निजी जग्गामा खोला हिँडेको छ र अर्को वर्ष व्यक्तिले त्यही जग्गामा कुनै संरचना बनाउदा खोला मिचेको आरोप लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निजी जग्गामा नै पर्खाल लगाउँदा पनि खोलामा पर्खाल लगायो भन्दै उजुरी गर्ने आउने धेरै छन् ।” खोला निजी जग्गामा बग्दा खोलाको पहिलेको स्थानमा भने सुकुम्वासीका नाममा कब्जा भइरहेको प्रवक्ता डङ्गोलले बताउनुभयो । वडा नम्बर ३२ मनोहरा खोला किनारमा एकातिर जग्गाको पूर्जा भएका आफ्नो जग्गामा खोला पस्दा हैरान छन् भने अर्कातिर खोला पहिले भएका ठाउँमा घरलगायतका संरचना बनिरहेका छन् । उहाँले भन्नुभयो, “सार्वजनिक जग्गाको संरक्षणसँगै खोलाले स्थानीयवासी पनि पीडित नहुन भन्ने हामीले चाहेका छौँ ।” कामपाका खाली रहेका सार्वजनिक जग्गा संरक्षणकै लागि पार्क, विश्राम स्थललगायतका संरचनाको निर्माण होस भन्ने स्थानीयवासीले चाहेको कामपाले जनाएको छ । वडावडाबाट आएको मागकै आधारमा विभिन्न स्थानमा बाल उद्यान, ज्येष्ठ नागरिक पार्क, हरीयाली पार्क, योगा गर्ने स्थान, स्मृति पार्कलगायतका संरचना निर्माणको योजना बनिरहेको छ । पहिलेदेखि नै खाली रहेका स्थानमा पार्कलगायतका संरचना निर्माणका लागि कामपाले ४२ वटा योजना चालू आर्थिक वर्षको बजेटमा समावेस गरेको महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै योजनाको डिजाइन भइसकेर कार्यन्वयनको क्रममा छ ।” सार्वजनिक स्थानको सदुप्रयोगकै लागि कामपाले वडा नम्बर १५ मा स्मृति पार्क निर्माण गरेको छ । गुह्ेश्वरीको १० रोपनी जग्गामा १२ राशी र नौ ग्रहका आधारमा वाग्मती नगर पार्क आयोजना यसै वर्षबाट निर्माण शुरु हुनेछ । लगन टोलस्थित भमिसेन थापाको घरमा पार्कसहित सङ्ग्रहालय निर्माण गर्ने कामपाको योजना छ । रासस
Categorized in राष्ट्रिय