STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्यसेवी प्राध्यापक सुवेदीको जन्मजयन्तीमा विशेष कार्यक्रम : श्रेष्ठ र थापा सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ श्रावण २०, आइतबार

साहित्यसेवी  प्राध्यापक राजेन्द्र सुवेदीको ८२ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गर्दै उहाँको सम्झना गरिनुका साथै दुई विशिष्ट व्यक्तित्वहरु सम्मानित  गरिएको छ ।  पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमूख अतिथीका रुपमा उपस्थित कार्यक्रममा अमर साहित्यसेवी सुवेदी को वाङमय यात्रा बारे चर्चा गरिएको थियो ।

राजेन्द्र सुवेदि स्मृति समाजद्वारा आयोजित सो कार्यक्रम जमलस्थित  राष्ट्रिय नाचघरमा सम्पन्न भएको थियो भने सो कार्यक्रममा  सुवेदीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिनुका साथै उहाँप्रति भावपूर्ण श्रद्घासुमन अर्पण गरिएको हो।

सो अवसरमा उहाँको नाममा स्थापित कला तर्फको राजेन्द्र सुवेदी कला पुरस्कार नाट्य निर्देशक भैरवबहादुर थापालाई समर्पण गरियो। थापाको परिचय के.पी पौडेलले प्रस्तुत गर्नुभएको थियो। 

साहित्य तर्फको राजेन्द्र सुवेदी साहित्य  पुरस्कार प्रा. डा. दयाराम श्रेष्ठलाई अर्पण गरियो। जनही २१ हजार राशीका दुवै पुरस्कार सभाका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदान गर्नुभएको हो। 

विभिन विद्यालयका छात्राहरूद्वारा भैरवबहादुर थापाले निर्देशन गरेका दुई वटा नृत्यको प्रस्तुति भएको सो कार्यक्रममा स्वर्गीय सुवेदीकी नातिनी एन्जेलिना घिमिरेद्वारा सुवेदीको काव्य पाठ पनि भएको थियो। 

प्रमुख अतिथि खनालले सुवेदी साथी र सहकर्मी पनि भएको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभयो। त्यसै गरी सम्मानित प्रतिभाहरुलाई बधाई दिनुहुँदै यस्ता प्रतिभाले राज्यले खोजी खोजी सम्मान गर्नुपर्ने विचार राख्नुभयो। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित प्रतिभा प्रा. डा दयाराम श्रेष्ठले राजेन्द्र सुवेदीलाई आफूले एम. ए पढाउन थालेकै साल एम एका कक्षामा भेट भएको र उहाँले संस्कृत काव्यशास्त्र र इतिहासका सामग्री खोज्न सहयोग गरेको स्मरण गर्नुभयो। उहाँले आफू नेपाली खुकुरी र सगरमाथाको इतिहास खोज्न लागिरहेको पनि बताउनुभयो। 

सभालाई सम्बोधन गर्नुहुँदै समाजका उपाध्यक्ष साहित्यकार डा. रमेश शुभेच्छुले संस्थाको इतिहास र कार्ययोजनाका साथै राजेन्द्र सुवेदीलाई सम्झनुपर्ने कारणहरुका रुपमा सुवेदीका व्यक्तित्वलाई सूत्रात्मक रुपमा प्रस्तुत गर्नुभयो। 

कार्यक्रममा    डा. रमेश शुभेच्छुले अायोजक संस्थाबाट प्रतिभा चयनमा सुवेदीको प्रतिभा चयनशैली अपनाइने र यस पटक दुई विधाका विशेष प्रतिभाका रुपमा दयाराम श्रेष्ठ र भैरवबहादुर थापालाई चयन गरिएको पनि बताउनुभयो।  

उक्त समारोहमा साहित्यकार, कलाकार,  प्राध्यापक  र  प्राज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रा राजेन्द्र सुवेदीकी श्रीमती इन्दिरा सुवेदी र अन्य परिवारजनको  उपस्थिति थियो । कार्यक्रमलाई नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमुनि हार्तनछाली, सीता सुवेदी, आजीवन सदस्य डा. रामप्रसाद दाहाल र डा. भागवत आचार्यले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि खनालले संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो। सभाध्यक्ष जीवेन्द्रदेव गिरीले सबैमा धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो।

Categorized in साहित्य-कला