STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिमेन्ट उद्योगको धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट आजित

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २२, बुधबार

घोराही उपमहानगरपालिका–४ मा सञ्चालित घोराही सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कबुनै ध्यान नदिँदा अहिले स्थानीयवासी त्यसको विरोधमा उत्रिएका छन् । सिमेन्टको धुवाँ, धुलो र ध्वनिले आजित भएपछि त्यहाँका स्थानीयवासीले उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति नाम दिएर २०७१ सालदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । घोराही–४ लक्ष्मीपुरका स्थानीयवासी दिलबहादुर घर्तीले उद्योगकै कारण अब खेतीपाती गरेर खान नसकिने अवस्था आएको बताउनुभयो । “बारीमा तरकारी रोपे पनि खान मिल्दैन । तरकारीको पातभरि सिमेन्टका धुलो जमेका हुन्छन्”, उहाँले भन्नुभयो, “पहिले गाउँमा कति धेरै फलफूलहरु उत्पादन हुन्थ्यो तर अब लिची, कागती, आँप सबै फल लाग्दै गर्दा झरेर जान्छन् केही पनि फल्दैन ।” उद्योग नजीकका स्थानीयवासी एवम् वातावरण सरोकार समितिका सदस्य डा गोविन्द आचार्यले उद्योग चौबिसै घण्टा चल्ने र रातको समयमा बढी ध्वनि र धुवाँ निकाल्ने हुँदा आफूहरुलाई निदाउनै मुस्किल भएको बताउनुभयो । “हामीले उद्योगलाई बारम्बार राति छ घण्टा मात्रै भए पनि ध्वनि रोक्नुस् भनेका छाँै तर बेवास्ता गर्दै आएको छ”, उहाँले भन्नुभयो, “उद्योगबाट निस्कने धुवाँ बढेको हँुदा बाँच्नै मुस्किल परेको छ ।” घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालिले भने सिमेन्ट उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दाबी गरेको छ । स्थापनाकालमा एक हजार २०० मेट्रिक टन प्रतिदिन सिमेन्ट उत्पादन गर्ने उद्योगले अहिले दैनिक दुई हजार मेट्रिक टन उत्पादन गर्न थालेको छ । सगरमाथा सिमेन्टका नाममा उद्योगले अहिले आफ्नो उत्पादन बजारमा पठाउँदै आएको छ । उद्योग नजिकै रहेको डाडाँगाउँ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क सुनारले उद्योग स्थापनापछि विद्यार्थीमा शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने जस्ता समस्या देखिएको बताउनुभयो । उद्योग छेउमै रहेको स्वास्थ्य चौकीमा पनि यसखालका बिरामी धेरै आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख विकास शर्माले सिमेन्ट उद्योग सरकारबाट तोकिएको मापदण्डको पूर्ण दायरामा रही सञ्चालनमा रहेको बताउनुभयो । उहाँले आफूहरुले स्थानीय नागरिकलाई क्षमता र सीपका आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व बहन गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनमा सजग रही वृक्षरोपणलगायत प्रदूषण नियन्त्रणमा अत्यन्तै गम्भीर भई सिमेन्ट उद्योग सञ्चालन भइरहेको बताउनुभयो । “हामी सिमेन्ट उद्योगबाट कोही कसैलाई पनि नकारात्मक प्रभाव पार्ने खालको काम गरेका छैनौँ, उद्योग सञ्चालनकै विषयमा यहाँहरुसमक्ष त्यस्तो केही भएजस्तो लाग्छ भने केन्द्रबाटै विज्ञ टोली मगाएर अध्ययन गर्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “उद्योगमा जडित उपकरण र त्यस वरपरको वातावरण मापदण्डभित्र रही उद्योगलाई हरित बनाउने काम भएकाले उद्योग शतप्रतिशत ठीक ढङ्गले सञ्चालन भइरहेको छ ।” सिमेन्ट उद्योगका जनप्रशासन प्रमुख शर्माले पछिल्लो समय उद्योगको क्षमता बढाएर चार हजार मेट्रिक टन प्रतिदिन उत्पादन गर्ने लक्ष्यअनुरुप हालै सरकारबाट इजाजत लिएर काम शुरु गरिएको जानकारीसमेत दिनुभयो । यस विषयमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्योगले कानूनी प्रक्रिया शत्प्रतिशत पालना गरेर सञ्चालन गरेको भए पनि यसका व्यावहारिक पक्षलाई बुझेर उद्योग सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनलगायत पक्षमा उद्योगले नियमित काम गर्दै आए पनि स्थानीय नागरिकका समस्या बढ्दै जानुका कारणबारे गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले उद्योग सञ्चालन गर्न नदिने पक्षमा कोही पनि नरहेको भन्दै उद्योगलाई कसरी नागरिकमैत्री बनाउने, उद्योगका कारण पर्ने नकारात्मक प्रभाव कसरी निवारण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिने भन्ने विषयमा बढी संवेदनशील हुनु अति आवश्यक रहेकामा बताउनुभयो । प्रजिअ गोविन्दप्रसाद रिजालले पटकपटक जनगुनासो बढेको हँुदा अनावश्यक रुपमा निस्कने धुलो, धुवाँ र ध्वनि प्रदूषणको तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन उद्योगलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “धुलो, धुवाँ र ध्वनि अनावश्यक रुपमा निस्केर उद्योग वरपर बस्दै आएका नागरिकलाई असर गरेको छ भन्ने गुनासो धेरै नै आयो, के गरेर हुन्छ उद्योगले समाधान निकाल्नुपर्छ ।” उद्योगले वातावरणीय प्रभावको असर कम गर्न विभिन्न प्रयास गरिरहेको, प्लान्ट जडान गर्दा प्रदूषण कम गर्ने उपकरण जडान गरेको दाबी गरेका हुँदा आफूले त्यसको अनुगमन गर्ने बताउनुभयो । करीब चार अर्बको लगानीमा २०६२ सालमा घोराही सिमेन्ट उद्योग स्थापना भएको थियो ।
Categorized in राष्ट्रिय