STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १४, बुधबार

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए।

रात्रिकालीन व्यवसायमार्फत पर्यटकले थप सेवासुविधा पाउने, रोजगार बढ्ने, सहर चलायमान बन्ने अपेक्षाका साथ रात्रिकालीन व्यवसायमा जोड दिइएको उनले उल्लेख गरे।

'हामीले आगामी वैशाखदेखि नै रात्रिकालीन व्यवसाय सञ्चालन गरेर पर्यटकीय शहरहरूलाई थप चलायमान बनाउने लक्ष्यका साथ सरोकारवाला निकायबीच छलफल र परामर्श गरिरहेका छौँ,' उपप्रधानमन्त्री लामिछानेले भने, 'रातिको समयमा बजार खुलाउँदा सुरक्षा नहोला कि भन्ने जिज्ञासा पनि आएको छ, यदि यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कुनै सुरक्षा चुनौती आएको खण्डमा फेरि बन्द गर्न सकिन्छ।'

बैठकमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सामाजिक विकृति आउन सक्ने सम्भावना रहेको समितिका सदस्यहरूले जिज्ञासा राखेका थिए। 

Categorized in उपत्यका