STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय भेला राजधानीमा हुने

Janjati Khabar | २०८० आश्विन ९, मंगलबार

काठमाडौँ,सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन राजधानीमा आयोजना गर्ने भएको छ ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तरराष्ट्रिय दिवसको अवसर पारेर यही असोज ११ र १२ गते राजधानीमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले राससलाई जानकारी दिनुभयो ।
पहिलो दिन चार विभिन्न विषयमा समूह छलफल गर्ने गरी सम्मेलन गरिने छ । ‘सूचनामा आम नागरिकको पहुँच वृद्धि गर्न नागरिक समाज संस्था र सञ्चार क्षेत्रको भूमिका’, ‘अल्पसङ्ख्यक युवा, महिला र पिछडिएको वर्गको सूचनामा पहुँचको अवस्था र चुनौती’ तथा ‘सार्वजनिक निकायमा सूचनाको स्वत ः प्रकाशनको अभ्यास, सूचना व्यवस्थापन र चुनौती’ गरी तीन विषयमा समूह छलफल गरिने उहाँले बताउनुभयो ।
 छलफलमा संविधानविद् एवं सूचनाको हकको कानुनका मस्यौदाकार काशिराज दाहाल, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर रावतलगायतका विज्ञको सहभागिता रहने जनाइएको छ । सम्मेलनको उद्घाटन भने सभामुख देवराज घिमिरेले गर्नुहुने भएको छ ।
दोस्रो दिन अर्थात् असोज १२ गते महासङ्घले दुई वर्षका लागि नयाँ नेतृत्वको चयन गर्ने छ । विसं २०७८ फागुन २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएको महासङ्घको पहिलो महाधिवेशन गर्न लागिएको हो । नयाँ कार्य समितिको अवधि दुई वर्षसम्म रहने व्यवस्था महासङ्घको विधानमा छ ।

Categorized in राष्ट्रिय