STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार

मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गर्नुभयो ।

    सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको रु पाँच अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो । सन् २०१७ मा ती सम्पदाको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनःस्थापना गरिने छ ।

    कार्यक्रममा दिइएको जानकारीअनुसार सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने छ भने मन्दिरको साजसज्जा तथा काष्ठकलासम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान दिइनेछ ।

    विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजार्चना गर्दै आएका छन् ।

     कार्यक्रममा काठमाडौं महानगपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक श्यामकिशोर सिंह, हनुमानढोका सङ्ग्रहालयका प्रमुख सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवं स्थानीय बासिन्दाको  सहभागिता थियो ।

Categorized in उपत्यका