STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सेतो मच्छेन्द्रनाथको रथयात्रा निकालिने

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २४, मंगलबार

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ ।

गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने संघसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले ‍जानकारी दिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, ईन्द्रचाेक, हनुमानढाेका, मरू, चिकंमुगल, जैसीदेवल, लगनसम्म हुने रथयात्रापछि करूणामयलाई खटमा राखेर पुनः मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

तीनधारा पाठशाला अघिको मूल सडकमा चैत्र शुक्ल प्रतिपदादेखि रथ निर्माण शुरु हुन्छ । अष्टमीका दिन बिहान सेतो मच्छेन्द्रनाथको खट मच्छेन्द्रबहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा शुरु गर्ने परम्परा छ । रथयात्रा पहिलो दिन असनमा लगी राखिन्छ । राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।

यस वर्ष ७ वैशाखदेखि रथयात्रा शुरु हुने समितिको संयोजकसमेत रहेका काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष शाक्यले बताए । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय  भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको उनले बताए ।

Categorized in उपत्यका