STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सेना खटाएर भए पनि नाकामा कडाई गर्न मेयरहरुको माग

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

विजयरत्न असंबरे


काठमाण्डौं उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संगठनको रुपमा रहेको उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर भए पनि प्रवेशमा कडाई गर्न माग गरेको छ । आज मङ्गलबार बसेको फोरमको बैठकले यस्तो माग गरेको हो । फोरमका अध्यक्ष काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेको र अस्वस्थताको कारण अनुपस्थित भएको कारण फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा भएको आजको बैठकमा उपत्यका भित्रको जन–जीवन खुकुलो बनाउँदै नकामा भने सेना खटाएर भए पनि अत्यन्त कडाई गर्न संघीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भदौ ३ गतेबाट जारी निषेधाज्ञा भदौ २४ गतेबाट सकिने भएकोले भदौ २५ गतेबाट उपत्यका प्रवेशका सबै नाका र प्रवेश बिन्दुमा अत्यन्त कडाई गरी जोखिम न्युनिकरणलाई ध्यानमा राखी सुरक्षा सतर्कता अपनाई स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा गर्ने–गराउने गरी निषेधाज्ञा खुकुलो गर्दै जाने निर्णय गरेको जानकारी गराउनु भयो । श्रेष्ठले नेपाल प्रहरी र शसस्त्रले अन्य सुरक्षाका लागि पनि तैनाथ हुनुपर्ने भएकाले उपत्यका प्रवेश नाकामा सेना खटाई अहिले भन्दा पनि कडाई गर्ने हो भने उपत्यका भित्र आर्थिक गतिविधि चलायमान हुने र जनजीवन पनि सहज हुने बताउनुभयो । आजको बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर–विजोर प्रणाली लागु गर्न आग्रह गरेको छ । बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने–गराउने पनि निर्णय गरेको छ । बैठकमा उपत्यकाका १८ वटै नगरपालिकाले पछिल्लो निषेधाज्ञा अवधीमा उपत्यकामा करीब ३८ हजारको कन्ट्याक्ट ट्रेसिङ गरेको जानकारी दिइएको थियो । यस अघि बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको थियो । बैठकले उपत्यकामा समुदाय स्तरमा नै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वय गरी करीब २८ हजार पाँच सयको कन्ट्याक्ट ट्रेसिङ गर्ने जानकारी दिएको थियो । बैठकमा फोरमका सचिव श्रेष्ठले स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा आइसोलेसनका लागि १६ सय र क्वारेन्टायनका लागि १५ सय बेट निर्माण भैसकेको जानकारी दिनुभयो । ‘पाँच हजार बेडका क्वारेन्टायन र ६ हजार बेडको आइसोलेसन बेड बनाउने ठाउँ पहिचान भएको पनि जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाले मात्रै निषेधाज्ञाको अवधीमा ७ हजार पाँच सय बढीको कन्ट्याक्ट ट्रेसिङ गरेको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ७ हजार बढीको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ सय ४० लाई कोरोना पोजेटिभ देखिएको पनि जानकारी दिनुभयो । बैठकले कागेश्वरी मनोहरा नगरका मेयर कृष्णहरि थापाको संयोजकत्वमा स्थानीय सरकार सञ्चालन ऐन संशोधनमा धारणा निर्माण गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । बैठकको सदस्यमा गोदावरी नगरका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरी नगरका मेयर घनश्याम गिरी, नागार्जुन नगरकी उपमेयर शुशिला अधिकारी र तारकेश्वर नगरकी उपमेयर भवानी डोटेल धिताल हुनुहुन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन संशोधन प्रक्रिया अघि बढाएपछि यसभित्रका व्यवस्थाको स्पष्ट व्याख्या गर्न, आफ्ना चासो र सरोकारका बिषय समेट्न कार्यदल गठन गरिएको हो । यसै २०२८ सालमा जारी शिक्षा ऐन र यसअन्तर्गत निर्माण भएका प्रबन्धका आधारमा अहिले शिक्षक दरबन्दीका सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थालेको प्रक्रिया रोक्न लेखी पठाउने बैठकले निर्णय गरेको छ । शिक्षक बिद्यार्थीको अनुपातमा तय गरिने दरबन्दी बैज्ञानिक नभएको उल्लेख गर्दै बैठकले बिषयगत आधारमा दरबन्दी तयार गर्नुपर्नेमा जोड दिएको छ । नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले पनि पटक–पटक उपत्यका प्रवेश नाकामा कडाई गर्न र उपत्यका भित्रको जनजीवन भने सहज बनाउन माग गर्दै आउनु भएको कुरा यहाँनेर स्मरणीय हुन आउँछ भने अहिले नाका प्रवेशमा कडाइ गर्न ढिलो भईसकेको कुरा बैठकमा उपस्थित सबैको ठहर छ ।
Categorized in राष्ट्रिय