सेना दिवस विविध कार्यक्रम गरी मनाइँदै
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १७, मंगलबार
काठमाडौं - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस मंगलबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रुपमा रहेको नेपाली सेनाको उनी परमाधिपति छन् ।
सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइँन्छ ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७८ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।
राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा हुनुहुन्छ । आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल प्रदर्शन गरिनेछ ।
सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिइ उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ ।
प्रकृति संरक्षण, युद्धकार्य एवं पेशागत निरीक्षण २०७८ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटलाई मुख्य समारोहपछि प्रधानसेनापतिले ट्रफी तथा पुरस्कार प्रदान गर्नुका साथै पदोन्नति हुनेलाई दज्र्यानी चिह्न तथा वर्षभरी उत्कृष्ट कार्य गर्नेलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिनेछ ।
सेना दिवसका उपलक्ष्यमा जङ्गीअड्डा मातहतका युनिटले दिपावली गर्ने, वीरगति प्राप्तका सम्मानमा वीर स्मारकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गर्ने, वीरगति प्राप्त सैनिकका एकल महिला तथा घाइते सैनिकलाई आमन्त्रण गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै जिम्मेवारी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, मठ, मन्दिर र इलाका सरसफाइ, रक्तदान, मैत्रीपूर्ण खेलकूद भइरहेको छ ।
Categorized in राष्ट्रिय


