STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सेवा विस्तार गर्दै कर्णाली प्रदेश अस्पताल

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार

वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो । ५० श्ययाको क्षेत्रीय अस्पतालमा न पर्याप्त विशेषज्ञ चिकित्सक थिए, न त आवश्यक भौतिक संरचना । नाममात्रको अस्पतालका कारण सामान्य प्रकृतिका बिरामीलाई समेत नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा सिफारिश गर्नुपर्ने बाध्यता थियो । मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भौतिक पूर्वाधारको विकास, उपकरण र जनशक्तिको व्यवस्थापनका कारण अस्पतालको पुरानो परिचय बदलिएको बताउनुभयो । “सेवासुविधा जिल्ला अस्पतालको भन्दा कम भएपछि शुरु–शुरुमा बिरामी यहाँ आउनै चाहन्थेनन्”, उहाँले भन्नुभयो, “पछिल्ला दुई–तीन वर्षयता भौतिक संरचना निर्माण, महत्वपूर्ण उपकरणको व्यवस्थापन र विशेषज्ञ सेवाका कारण अस्पतालले जनविश्वास जित्न थालेको छ ।” उहाँले अहिले औसत दैनिक ७०० बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा डम्बरबहादुर खड्काको कुशल व्यवस्थापन र अस्पताल विकास समितिका पदाधिकारीको सक्रियताका कारण अस्पतालको मुहार बदलिएको छ । अस्पतालको आन्तरिक स्रोत र चन्दादाताको सहयोगबाट गत वर्षदेखि आइसीयू, एनआइसीयू र डाइलासिस सेवा सञ्चालनमा आएको छ । “सघन उपचार सेवाका लागि आइसीयू र जन्मदेखि २८ दिनभित्रका बालबालिकाका लागि एनआइसीयू सेवा पहिलोपटक सञ्चालनमा ल्यायौँ”, मेसु डा खड्काले भन्नुभयो, “यो अहिलेसम्मको ठूलो उपलब्धि हो ।” यी सेवा सञ्चालनसँगै प्रदेश बाहिर वा भारतीय शहरमा गएर महङ्गो शुल्क तिरेर औषधि उपचार गर्नुपर्ने बाध्यता हटेको छ । प्रदेश अस्पतालमा हालै पाँच विशेषज्ञ चिकित्सक थपिएका छन् । मेडिकल रेकर्डर अधिकृत बस्नेतका अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा अध्ययन गरेका छाला तथा यौनरोग विशेषज्ञ डा प्रभावसिंह राजपुत, नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा सन्तोष बस्नेत, बालरोग विशेषज्ञ डा प्रदीप पौडेल, फिजिसियन डा सञ्जीव भण्डारी र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा सुभद्र श्रेष्ठ आउनुभएको छ । विसं २०६२ फागुनदेखि तीन विशेषज्ञ चिकित्सकबाट सञ्चालनमा आएको तत्कालीन क्षेत्रीय अस्पतालमा अहिले विशेषज्ञसहित २८ चिकित्सक कार्यरत छन् । ३० विशेषज्ञ चिकित्सकसहित ८८ जनाको दरबन्दी रहेको अस्पतालमा अझै विशेषज्ञ चिकित्सकको कमी छ । सरकार र आन्तरिक स्रोतबाट गरी हाल ११५ श्यया अस्पताल सञ्चालनमा छ । २० विशेषज्ञ चिकित्सकमध्ये दरबन्दीका चार, काजका दुई र करारका १४ छन् भने मेडिकल अधिकृत आठ जना छन् । विशेषज्ञ चिकित्सकको अभावै रहे पनि अस्पतालले बिहान १० देखि साँझ ५ बजेसम्म बहिरङ्ग ९ओपिडी० सेवा दिइरहेको छ । ४० श्ययाको मेटेनरी वार्ड ९सुत्केरी भएपछि राख्ने ठाउँ० र ३५ श्ययाको जनरल वार्डलाई स्तरोन्नति गरिएको छ । यसैगरी सिटीस्क्यान मेसिन जडान गरिएको छ । सिटीस्क्यान सेवा सञ्चालनमा आउँदा टाउकोका बिरामीका साथै दुर्घटनाका घाइतेलाई उपचारमा सहज भएको छ । अल्ट्रासाउण्ड मेसिन, अक्सिजन प्लान्ट निर्माण पनि यहाँबाटै हुने गरेको छ । अस्पतालले सिसीटिभी क्यामराका साथै क्यूमेसिनबाट सेवा दिन थालेको छ । यहाँ बिरामी लाइनमा बसिराख्नुपर्ने बाध्यता छैन । अस्पतालले जेनेरेटर मात्रै होइन, सौर्यबत्तीसमेत बाल्न शुरु गरेको छ । ३० र ५० केभिएका जेनेरेटरका साथै १० किलोवाटको सौर्य उपकरण पनि जडान गरिएको छ । बिरामी पनि प्रदेश अस्पतालको सेवादेखि सन्तुष्ट छन् । यसअघि सामान्य स्वास्थ्य समस्या देखिँदा नेपालगञ्ज, काठमाडौँ धाउनेहरु अहिले प्रदेश अस्पतालबाटै विशेषज्ञ सेवा लिन थालेका छन् । तीन सय श्ययामा स्तरोन्नति हुँदै कर्णाली प्रदेश सरकारले यसै वर्षभित्र ३०० श्ययाको शिक्षण सुविधासहितको अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्भे ९ओएण्डएम० सर्भे गरिरहेको छ । मन्त्री दल रावलले मन्त्रालयद्वारा गठित विज्ञ टोलीले सर्भे रिर्पोट अध्ययन गरिरहेको बताउनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले ओएण्डएमसम्बन्धी उक्त प्रस्ताव पारित गरेपछि अस्पताललाई उपकरण खरीदका साथै जनशक्ति व्यवस्थापनमा बाटो खुल्नेछ । ३०० श्ययाको अस्पतालमा ५०० कर्मचारी रहने प्रस्ताव गरिएको छ । साढे दुई बिघा क्षेत्रफलमा नयाँ भवन निर्माण सम्पन्न भएको छ । विसं २०७६ माघ १८ गते निर्माण सक्ने गरी आशिष एण्ड कन्टेक जेभीले विसं २०७३ माघमा ठेक्का लिएको थियो । निर्धारित समयभन्दा छ महीनाअगावै भवन निर्माण गरेर शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतलाई हस्तान्तरण गरिसकेको छ । मेसु डा। खड्काले भवन निर्माण सम्पन्न भए पनि अस्पताल सञ्चालनमा आउन कम्तीमा तीन महीना लाग्ने बताउनुभयो । “विभिन्न उपकरण÷सामानहरुको बोलपत्र आह्वान, छनोट र जडान गर्न बाँकी छ, प्रदेश सरकारले ओएण्डएमको पनि टुङ्गो लगाएको छैन्, त्यसैले भवन केही समय प्रयोगविहीन हुने अवस्था छ”, उहाँले भन्नुभयो ।
Categorized in राष्ट्रिय