STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १३, आइतबार

काठमाडौं - सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । 

चारवटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो । 

वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले दिनुभएको जानकारी अनुसार यी ग्रहहरु खाली आँखाले पनि देख्न सकिने छ । 

सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिन्छ । उत्तरी गोलाद्र्धबाट प्रत्यक्षरूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने छ । 

माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शक्रु, वृहस्पति र मङ्गल ग्रहहरूलाई लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ । चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।

यस अवधिमा चन्द्रमा मध्य रात्रिमा उदाउनुका साथै यो अर्ध चन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै सफा आकाशमा सहजरूपमा दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा देख्न सकिन्छ । मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेका अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने छ । यी ग्रहहरू पङ्तिबद्ध रहे पनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहनेछ ।

काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिनेछ । वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरले भोलि सोमबार साँझ ६ः०० बजेदेखि ८ः०० बजेसम्म विज्ञान सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई सर्वसाधारण सबैलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको छ ।

Categorized in विज्ञान-प्रविधि