स्तनपान कक्ष र पोषण कर्नरको स्थापना
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
सिस्ने गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकाले कार्यालयभित्र स्तनपान कक्ष निर्माण गरेको हो ।
कार्यालयमा काम गर्ने सुत्केरी कर्मचारी तथा कामको सिलसिलामा गाउँपालिकासम्म पुग्ने सुत्केरी आमाले आफ्नो बच्चालाई सहजरुपमा स्तनपान गराउन सकून् भन्ने उद्देश्यले स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र दुई वर्षमुनिका बालबालिकालाई केन्द्रित गरेर स्तनपान कक्ष र पोषण कर्नर स्थापना गरिएको हो ।
गाउँपालिका कार्यालयको एउटा कोठामा स्तनपान कक्ष र पोषण कर्नर स्थापना गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । पोषण कर्नरमा गेँडागुडी, फलफूल राखिनुका साथै सन्देशमूलक जानकारी पनि राखिएको छ । कर्नर स्थापना भएपछि गाउँपालिका आउने सेवाग्राही आमा र बच्चा दुवैलाई सहयोग पुग्ने अध्यक्ष बरालले बताउनुभयो ।
स्तनपान कक्षमा बच्चा सुताउन बेबीखाट र स्तनपान गराउनका लागि आरामदायी सोफासेट राखिएको छ । स्तनपान प्रभावकारीसम्बन्धी सन्देशसहितका सामग्री पनि स्तनपान कक्षमा राखिएको छ । करीब रु एक लाखको लागतमा स्तनपान कक्ष र पोषण कर्नरको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । रु ७५ हजारको लागतमा स्तनपान कक्ष र रु २५ हजारमा पोषण कर्नर स्थापना गरिएको हो ।
‘हरेक बार खाना चार’ भन्ने नारालाई प्रत्येकको घरघरमा पु¥याउँछौँ, अध्यक्ष बरालले भन्नुभयो, “यहाँका महिला र बच्चाको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउँछौँ ।” सबैभन्दा पहिले आफ्नै कार्यालयमा स्तनपान कक्ष निर्माण गरेको सिस्ने गाउँपालिकाले विस्तारै सबै सरकारी कार्यालयमा पनि स्तनपान कक्ष निर्माण गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
कज्वे निर्माण
सोलबाङ–बालुवा– रुकुमकोट सडकखण्डअन्तर्गत सिस्ने गाउँपालिका–७ स्थित नाथीगाँड खोलामा कज्वे निर्माण गरिएको छ ।
गाउँपालिकाको ७ र ८ नम्बर वडालाई सदरमुकाम रुकुमकोटसँग जोड्ने उक्त सडकखण्डमा कज्वे निर्माण भएपछि यात्रा सहज हुने भन्दै स्थानीयवासी खुशी भएका छन् । गाउँपालिकाबाट रु २० लाख र जनश्रमदानबाट रु चार लाख गरी कूल रु २४ लाख रकमको लागतमा कज्वे निर्माणको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण केसीले बताउनुभयो ।
वर्षात्को समयमा खोला बढेर गाडी वारपार गर्न समस्या हुने भएपछि सिस्ने गाउँपालिकाले आफ्नै लगानीमा कज्वे निर्माण गरेको हो । कज्वे नबन्दासम्म वर्षाको समयमा गाउँपालिकाका ७ र ८ वडालाई यातायातका साधनमार्पmत सदरमुकाम रुकुमकोटसँग जोडिन सकेका थिएनन् । हिउँदको समयमा खोला सुकेर सानो हुँदा मुस्किलले यातायातका साधन खोला वारपार गर्थे भने वर्षाको समयमा उक्त सडकखण्डमा यातायातका साधन ठप्प हुने गर्थे ।
स्कूल पढ्ने विद्यार्थी र अन्य स्थानीय नागरिक उक्त खोलामा रहेको झुलुङ्गे पुलमार्फत खोला आरपार गरे पनि त्यहाँको उत्पादन तथा खाद्यान्न ढुवानीमा ठूलो असर परेको थियो । कज्वे निर्माण भएपछि भने यातायातका साधनदेखि लिएर स्थानीय नागरिक र वस्तुभाउलाई पनि खोला वारपार गर्न सजिलो भएको सिस्ने गाउँपालिका–७ नाथीगाडकी मीना परियारले बताउनुभयो ।
विगतका वर्षमा वर्षे झरी शुरु हुने बित्तिकै सदरमुकाम रुकुमकोटसम्म पुग्न कठिन हुने गरेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले बताउनुभयो । “वर्षा शुरु हुने बित्तिकै खोला ठुलो हुन्छ”, अध्यक्ष थापाले भन्नुभयो, “तीन महीना यातायातका साधन ठप्प हुन्थे ।” असार, साउन र भदौ महीनाको झरी नरोकिएसम्म खोलाको पानी कम नहुने भएकाले यातायातका साधन खोलावारीका वारीपट्टि पारीका पारीपट्टि नै हुन्थे तर, यस वर्ष सिस्ने गाउँपालिकाले यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै कज्वे निर्माण गरेपछि यात्रा सहज भएको उहाँको भनाइ छ ।
कज्वे निर्माण भएपछि नाथीगाड, रुकुमकोट हुँदै भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न ठाउँमा जान सजिलो भएको छ ।
Categorized in राष्ट्रिय