स्वरसम्राट नारायणगोपालको स्मृतिमा कीर्तिपुरमा सांगीतिक कार्यक्रम हुने
Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ मङ्सिर १८, बिहिबार
कीर्तिपुर– ३० औं स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य स्मृति सन्ध्या ११४१ सांगीतिक कार्यक्रम पहिलोपटक कीर्तिपुरमा आयोजना हुने भएको छ ।
लायकू दरबार एण्ड हेरिटेज होमको लागि भ्वाईस अफ कीर्तिपुरले आयोजना गर्न लागेको सो स्मृति सन्ध्यामा राजेश महर्जन नेवाः र रत्नशोभा महर्जनले स्वर सम्राट नारायणगोपालका गीतहरु प्रस्तुत गर्नेछन् । यीबाहेक सो सांगीतिक कार्यक्रममा कीर्तिपुरका अन्य कलाकारहरुको पनि सहभागिता रहने जनाइएको छ ।
कीर्तिपुर १ वडा लायकू टोलस्थित लायकू दरबार एण्ड हेरिटेज होमको हलमा सो कार्यक्रम हुन लागेको हो । मंसिर १९ गते शुक्रबार दिउँसो ४ देखि साँझ ८ बजेसम्म सामाजिक दुरी कायम गरी सो कार्यक्रम हुने लायकू दरबार एण्ड हेरिटेज होमका प्रमुख नवीन प्रधानले जनजातिखबरलाई जानकारी दिनुभएको छ ।
स्वरसम्राट नारायणगोपालको स्मृतिमा कीर्तिपुरमा पहिलोपटक हुन लागेको कार्यक्रममा प्रस्तुति दिन पाउँदा आफू ज्यादै उत्सुक रहेको गायिका रत्नशोभा महर्जनले बताएका छन् ।
स्मरणीय छ, स्वरसम्राट नारायणगोपालको निधन विसं २०४७ मंसिर १९ गते भएको थियो ।
Categorized in साहित्य-कला


